खोटाङ, २६ कात्तिक । मार्कसिट तथा चारित्रिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरी तथा भवन निर्माणमा भइरहेको अनियमितता लगायतका शैक्षिक बिकृति नियन्त्रणका लागि राखेको मागलाई जिल्ला शिक्षा कार्यालयले बेवास्ता गरेको भन्दै खोटाङमा समाजवादी विद्यार्थी फोरमले आन्दोलन घोषणा गरेको छ । 
बिशेषगरी एलएलसिको मार्कसिट तथा चारित्रिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरी, विद्यालयको भवन निर्माणकाक्रममा देखिएका अपारदर्शीता लगायतका शैक्षिक बिकृति नियन्त्रणकालागि यस अघि पटक–पटक राखिएको मागका बिषयमा जिल्ला शिक्षा कार्यालयले बेवास्ता गरेको भन्दै समाजबादी विद्यार्थी फोरमले शुक्रबार पहिलो चरणको आन्दोलन घोषणा गरेको हो । 
समाजबादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष रबिन खम्बू र सचिव एलबि मगरले बिज्ञाप्ती जारी गरी जिल्लाभकार शैक्षिक संस्थामा भइरहेका शैक्षिक बिकृतिका बिरुद्ध भण्डाफोर तथा जागरण अभियान सञ्चालन गर्ने, कार्तिक ३० गते बिहान दिक्तेल बहुमुखी क्याम्पसमा र मंसिर १ गते सरस्वती उच्च माबि दिक्तेलमा भण्डाफोर तथा कोणसभा गर्ने, मंसिर २ गते दिक्तेलको भवगैरादेखि हाटडाँडाहुँदै किरातचोकसम्म बिरोध ¥याली निकालेर कोणसभा गर्ने तथा मंसिर ५ गते जिल्ला शिक्षा कार्यालयमा एक घण्टा धर्ना दिने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
एलएलसीको मार्कसिट तथा चारित्रिक प्रमाणपत्र दिएवापत प्रतिविद्यार्थी ५ हजारसम्म शुल्क लिने बिद्यालय, भवन निर्माण लगायतका शिर्षकमा अनियमितता गर्ने विद्यालयको नाम किटेरै कारबाहीकालागि तत्कालिन जिशिअ निर्मलकुमार घिमिरेलाई आग्रह गरेपनि बेवास्ता गरिएकाले आन्दोलनमा उत्रनु परेको समाजबादी विद्यार्थी फोरमका जिल्ला अध्यक्ष खम्बूले बताए । ज्ञानमणि नेपाल नयाँ जिल्ला शिक्षा अधिकारीकारुपमा खोटाङ आएको पाँच दिनपछि समाजबादी विद्यार्थी फोरमले आन्दोलन घोषणा गरेको हो ।
विद्यार्थी फोरमले शैक्षिक प्रमाणपत्रको शुल्कमा भइरहेको मनपरीलाई रोक्न, शैक्षिक प्रमाणपत्रको शुल्कमा एकरुपता कायम गर्न, विद्यार्थी रोक्ने नियतले शैक्षिक प्रमाणपत्रको शुल्कमा लिइने चर्को शुल्क बन्द गराउन, शैक्षिक तालिमलाई कक्षा कोठाभित्र व्यवहारमा उतार्न, विभिन्न समयमा जिम्मा लिइएका भवन निर्माणलाई गुणस्तरि र पारदर्शी बनाउन, अनियमित गर्ने शिक्षकलाई कारबाही गर्न गत भदौ २१ गते मौखिक तथा असोज २ गते पाँच बुँदे ज्ञापनपत्र बुझाएको थियो । 
शैक्षिक प्रमाणपत्रको शुल्क बढि हुँदा निम्न आर्थिकस्तर भएका विद्यार्थी मारमा परेकाले नियन्त्रणको माग गरिएको समाजबादी विद्यार्थी फोरमले जनाएको छ । विद्यार्थी संगठनले एसएलसिको सर्टिफिकेटको शुल्कमा एकरुपता कायम गर्दै सहुलियतपूर्ण शुल्क निर्धारणको माग गर्दैआएको छ । विद्यार्थी संगठनले यसअघि मनोमानीढंगले लिइएको शुल्क फिर्ता गराउन जिल्ला शिक्षा कार्यालयको लिखित ध्यानाकर्षण गराएको छ । कतिपय माबिले अन्यत्र अध्ययन गर्न जाने बिद्यार्थीबाट बढि र सोही ठाउँमा अध्ययन गर्ने बिद्यालयबाट कम शुल्क लिने गरेको पाइएकाले बिरोध गर्नुपरेको खम्बूले बताए ।
 ‘विद्यालयले एसएलसिको चारित्रिक प्रमाणपत्र वितरण गर्दा अनियमित र मनपरी शुल्क लिँदा विद्यार्थी मारमा छन्,’ अध्यक्ष खम्बूले भने, ‘तसर्थ सबै विद्यालयमा शैक्षिक प्रमाणपत्रको शुल्कमा एकरुपता कायम गरिनु पर्छ, विद्यार्थीको ढाड सेक्न मिल्दैन ।’