खोटाङ । कानूनी शासन र प्रजातन्त्रको ठेक्कावाल झैं ठान्ने संंसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको चरित्रले कतिपय ठाउंमा जनता भने आजित बन्ने गरेका छन् । त्यसको एउटा उदाहरण खोटाङ कांग्रेस जिल्ला पार्टीमा पनि भेटिएको छ । खोटाङ सिंगो कांग्रेस यतिबेला कानूनी शासनलाई खिल्ली उडाउंदै नातेदार पर्ने एक दोषीलाई जोगाउन धोती टोपी फुकालेर लागिपरेको पाइएको छ ।
च्यानडा“डा–१ सेखुवा निवासी धनगन्ज राई दम्पत्तिले आफ्नो छोरो नबोलेको भन्दै बोक्सीको आरोपमा मरणाशन्न हुने गरी एक ७२ वर्षीय वृद्धालाई कुटपिट गरेपछि उनलाई छुटाउन कांग्रेस खोटाङ लागि परेको हो । १३ जेठ २०७३ का दिन कुटपिटबाट पीडित वृद्धाको टाउकोमा गम्भीर चोट लागेपछि सात टांका लगाइएको थियो भने हात खुट्टामा असर परेको थियो । यद्यपि, धनगन्जका बुवा कांग्रेस सदस्य भएको त्यसै च्यानलबाट जिल्ला पूर्वसभापति एवं महासमिति सदस्य विष्णु कुमार राईसहित दोषीलाई सजायको भागीदार नै नबनाउने र बनाउनै परेमा कमजोर सजाय गराएर उन्मुक्ति दिलाउन लागेको गुनासो पीडित पक्षको रहेको छ ।
कांग्रेस खोटाङबाट मुद्दा कमजोर बनाउन दबाब दिने, प्रहरी प्रशासनलाई अनावश्यक टर्चर दिने काम भइरहेको स्रोतले बतायो । त्यसो त पीडित पक्षले मुद्दा दायर गर्नु पूर्व नै कांग्रेस जिल्ला पार्टी कार्यालयमा कसरी मुद्दा कमजोर बनाउने भनेर वकिल, दोषी पक्ष, कांग्रेस नेता कार्यकर्तासहितको छलफल भएको समेत बुझिन आएको छ । धनगन्जका नातेदार नै पर्ने वकिल नारायणदास राई समेत त्यसमा लागेको आरोप छ । कांग्रेसकै दबाबका कारण बोक्सी सम्बन्धी कसुर तथा सजाय अन्तर्गत मुद्दा चल्नुपर्नेमा अहिले सार्वजनिक अपराध शिर्षकमा प्रहरीले मुद्दा अगाडि बढाएर दोषीलाई उन्मुक्ति दिने प्रयास भइरहेको पाइएको छ ।
प्रहरी कार्यालयभित्रै प्रहरीबाट कीर्ते
खोटाङ जिल्ला प्रहरी कार्यालयले नै मुद्दा कमजोर बनाउन कीर्ते काम गरेको प्रमाण फेला परेको छ । पीडितले दिएको जाहेरीमा बोक्सी सम्बन्धी लेखिएको सबै कुरा हटाएर अपरिचित व्यक्तिको औंठा छाप लगाइएको पाइएको हो । प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बुझाएको पीडितले लेखेको उजुरीको विषयहरु नै केरमेट गरिएको छ । पीडित पक्षले आफूहरुलाई थाहा नै नभई उजुरीको विषय कटाएको दाबी गरेका छन् । घटनाको विषयमा मानव अधिकार कार्यालय दिक्तेलले प्रहरीसंग सम्पूर्ण कागजात माग गर्दा प्रहरीले उपलब्ध गराएको कागजातमा पनि प्रहरीले मनलाग्दी रुपमा उजुरीको विषय हटाएर कीर्ते काम गरेको पुष्टि भएको हो ।
डीएसपी र सई विरुद्ध मुद्दा दायर
पीडित पक्षले प्रहरीले जालसाजी गरी मुद्दा चलाएको भन्दै खोटाङका तत्कालीन डीएसपी विद्यानन्द माझी र सई मनोज यादव विरुद्ध मानव अधिकार आयोगमा मुद्दा दायर गरेका छन् । स्रोतका अनुसार, मुद्दामा बोक्सीको आरोप शिर्षकमा मुद्दा चलाउन माग गरेपनि सार्वजनिक अपराध शिर्षकमा चलाएको, मिलेमतोमा मुद्दा कमजोर बनाएको, उजुरीको विषयवस्तु पनि प्रहरीले नै कीर्ते गरी मेटाएको भन्दै छानबिन गर्न माग गरिएको छ । पीडित परिवारले उचित न्याय दिलाई दिन पहल गरिदिन समेत आयोगसंग माग गरेको आयोग स्रोतले बताएको छ ।
मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
खोटाङको च्यानडांडा १ सेखुवा निवासी एक ७२ वर्षिया वृद्धालाई बोक्सीको आरोपमा मरणाशन्न हुने गरी भएको कुटपिटको गम्भीर घटनामा मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।
केही दिन अगाडी मात्रै आयोगको टोली घटनास्थलमा पुगेर प्रत्यक्षदर्शी विभिन्न व्यक्तिहरु जानकारी लिएको छ ।
यसअघि, पीडित पक्षले प्रहरीमा उजुरी दिएपनि प्रहरीले कागजात किर्ते गरेको, बोक्सी सम्बन्धी सजाय तथा कसुरमा मुद्धा चलाउनपर्नेमा झुक्याएर जालसाजी गरी सामान्य कुटपिट भन्दै सार्वजनिक अपराध शिर्षकमा मुद्धा चलाएपछि पीडित पक्षले मानव अधिकार आयोग लगायत सम्बन्धित निकायसँग न्याय दिलाईदिन गुहार मागेका थिए ।
सेखुवा निवासी धनगन्ज राई दम्पत्तिले जेठ दोस्रो साता आफ्नो नाबालक छोरो नबोलेको भन्दै बोक्सीको आरोपमा मरणाशन्न हुने गरी ती ७२ वर्षिया वृद्धालाई कुटपिट गरेका थिए । कुटपिटपछि घटनाको विषयमा थुप्रै स्थानीय भेला भएको ठाउँंमा समेत राई दम्पत्तिले ती वृद्धालाई बोक्सी भन्दै औंला ठर्याएर छोरो बोल्ने नबनाए ज्यान लिने धम्की दिएको पीडित तथा प्रत्यक्षदर्शीको भनाई छ । तर प्रहरीले भने उक्त गम्भीर घटनामा दोषीलाई उन्मुक्ति दिने तवरबाट मुद्धा कमजोर बनाएर सार्वजनिक अपराध शिर्षकमा मुद्धा दायर गरेको छ ।
पीडित पक्षले उक्त विषयलाई सार्वजनिक शिर्षकमा मुद्धा फैसला नगर्न माग गर्दै बोक्सी सम्बन्धी सजाय तथा ऐन कसुरमा मुद्धा चलाउन माग गरेका छन् ।
मानव अधिकारको टोली घटनास्थलमा
घटनाको जानकारी लिन मानव अधिकारको टोली च्यानडांडास्थित घटनास्थल पुगेको छ । उचित कानुनी उपचार नपाएको तथा मानव अधिकारको पनि हनन् भएको भन्दै पीडित पक्षले आयोगसंग न्याय दिलाईन दिन माग गरे पछि आयोगको टोलिले घटनाको अनुसन्धान थालेको आयोगले जनाएको छ ।
प्रहरीले झुक्याएर कमजोर मुद्धा बनाई चलाएपछि न्याय नपाउने देखेर आयोगसमक्ष उजुरी दिएका छन्, आयोगले भन्यो, हामीले त्यसै विषयमा अनुसन्धान सुरु गरेका हौं ।
मुद्धाको फैसला म बाटै हुन्छ : सिडिओ
खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चन्द्रबहादुर कार्कीले सार्वजनिक शिर्षकमा मुद्धा परेको भन्दै त्यो सिडिओ कार्यालयमा आईसकेकाले आफैंले मुद्धाको फैसला गर्ने बताएका छन् । पीडित पक्षले बोक्सी सम्बन्धी मुद्धा भएको र सार्वजनिक मुद्धा शिर्षकमा फैसला हुंदा न्याय नपुग्ने भन्दै पुनः छानबिनका लागि प्रहरीमा फिर्ता गराएर बोक्सी सम्बन्धी शिर्षकमा नै मुद्धा चलाउन आग्रह गरेपनि सिडिओ कार्कीले अब फिर्ता गर्न नमिल्ने बताएको पीडित परिवारले बताएका छन् । ’हामीले घटनाबारे सबै सिडिओलाई बतायौं, सुनिसकेपछि तपाईहरु अन्यायमा पर्नुभएछ, गल्ती तपाईहरुको पनि भएको होला तर मुद्धा अगाडी बढीसक्यो, अब कानुनले तोके बमोजिम मबाटै फैसला हुन्छ भन्नुभयो’, सिडिओको भनाई उदृत गर्दै एक पीडितले बताए । (२०७३ साल कात्तिक २२ को साँघु साप्ताहिकबाट)