काठमाडौं २४ जेठ । सरकारले फेरि ११ दिनका लागि लकडाउन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्‍याएको हो ।

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द गर्ने यस अगाडि नै निर्णय गरिसकेको छ । मंगलबार बसेको कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना रोकथामका लागि अहिले सबै कदमहरु यथावत राख्ने निर्णय गर्दै लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको थियो ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो । त्यसलाई निरन्तरता दिँदै वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो । त्यसगरी १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ सम्म पुर्‍याएको थियो । पछिल्लो पटक १० दिन थप गर्दै बैशाख २५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गरेको थियो ।