खोटाङ, ८ मंसिर । व्यवस्थापन समितिमा पठाउने शिक्षक प्रतिनिधिको विषयलाई लिएर खोटाङको दुर्छिम माबिका शिक्षकबीचमै विवाद चर्किएको छ । नयाँ व्यवस्थापन समिति गठनकालागि शिक्षक प्रतिनिधि पठाउने बिषयमा स्टाफबीचमा विवाद चर्किएको हो । आफु अनूकुलको व्यवस्थापन समिति अध्यक्ष बनाउने खेलमा विद्यालयका शिक्षक नै दुई धारमा बिभाजित बनेर लागिपरेका छन् ।
 गत आईतबारको स्टाफ मिटिङले शिक्षक शैलेन्द्रकुमार राईलाई व्यवस्थापन समितिमा प्रतिनिधि पठाउने निर्णय गरिएको दोश्रो दिन १५ शिक्षकमध्ये ८ शिक्षक बिरोधमा ‘पेनडाउन’मा उत्रिएका छन्, भने ७ शिक्षक शैलेन्द्रकै पक्षमा उभिएका छन् । व्यवस्थापन समितिको नयाँ अध्यक्ष चयनकालागि शिक्षक प्रतिनिधिको प्रमुख हात रहने स्थिति बनेपछि शिक्षकबीचमै गणितीय खेल सुरु भएको हो । पूरानो भवनको फरफारक नभएको र नयाँ भवनकालागि आएको ४८ लाख बजेटमा हात हाल्नकालागि समेत व्यवस्थापन समिति गठनमा राजनितिकरण भएको नाम उल्लेख नगर्ने शर्तमा एक अभिभाबकले बताए ।
व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि पठाउने बिषयमा दुर्छिम माबिले गरेको निर्णय
 जिल्लास्थित दश दलका प्रमुख नेताले शिक्षकलाई राजनैतिक गतिबिधिमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएको हप्ता दिन नबित्दै दुर्छिम माबिका शिक्षकभित्र राजनिति घुसेको हो । अहिले शिक्षक शिक्षणमाभन्दा पनि नयाँ व्यवस्थापन समितिको अध्यक्ष आफु अनूकुलको बनाउने दाउमा लागेका छन् ।
शिक्षा ऐन आठौँ संशोधन ऐन २०७३ अनुशार मंसिर ४ गते दुर्छिममा गरिएको निर्वाचनबाट व्यवस्थापन समितिकालागि कांग्रेस निकटका शम्भु राई र पुष्प मल्ल ठकुरी तथा स्वतन्त्र टिमको नेतृत्व गरेको दुर्छिम मावि सुधार मञ्चका रमेश राई र गमिता राई अभिभाबक प्रतिनिधिमा निर्वाचित भएका छन् । निर्वाचित अभिभाबक शम्भु राई र पुष्प मल्ल ठकुरीको पक्षमा शिक्षक बिष्णुबहादुर राउत, केदारप्रसाद शाह, मेजर राई, किरनचन्द्र कार्की, एकबहादुर बुढाथोकी, दिपबहादुर राई र एकनाथ राउत उभिएका छन् भने सुधार मञ्चका रमेश राई र गमिता राईको पक्षमा प्रअ बिष्णु राई, खम्बराज राई, हम्मर राई, बगम राई, नबिन चामलीङ, बिमला राई र शैलेन्द्रकुमार राई देखिएका छन् । स्टाफ मिटिङबाट छानिएका शिक्षक प्रतिनिधि शैलेन्द्रकुमारले व्यवस्थापन समितिको निर्वाचनमा रमेश राई र गमिता राईलाई समर्थन गर्ने भएकाले कांग्रेसका स्थानीय नेताको डिजाईनमा अर्को शिक्षक प्रतिनिधि छान्ने खेलमा ८ शिक्षक लागेको श्रोतले बताएको छ । अर्कातर्फ एउटै टिम बनाए पनि निर्वाचनमा प्रतिनिधि छिराउन नसकेका एमाले र नेकपा माओबादी केन्द्रका कार्यकर्ता तथा उनीहरुनिकट शिक्षक जुनसुकै हालतमा शैलेन्द्रलाई नै प्रतिनिधि कायम गरेर रमेश र गमितामध्ये एकलाई अध्यक्ष बनाउने कसरतमा छन् । प्रअ बिष्णु राई समेत सुधार मञ्चकैपक्षमा लाग्ने संकेत पाएपछि डिजाईनमा ८ शिक्षक स्टाफ मिटिङको निर्णयलाई उल्टाएर आफु अनुकुलको अर्को शिक्षक प्रतिनिधि पठाउन कस्सिएको श्रोतको भनाई छ । ‘शैलेन्द्रलाई नै प्रतिनिधि पठाइए एकातिरको बहुमत हुने देखियो,’ एक अभिभाबकले भने, ‘त्यही भएर त्यसलाई भत्काउने खेल शिक्षकमार्फत भएको हो ।’
डिजाइन अनुशार ८ शिक्षकले शैलेन्द्रलाई प्रतिनिधि पठाउन गरिएको निर्णयमा सहमती जनाउँदै आईतबार शिक्षक प्रतिनिधिकारुपमा बिष्णुबहादुर राउतलाई समर्थन गरिएको लिखित व्यहोरा प्रअलाई बुझाएका थिए । आईतबार ४ बजेभित्रमै छलफल गर्न र समस्या हल गर्नकालागि राखिएको मागलाई बेवास्ता गरेको भन्दै तिनै असन्तुष्ट शिक्षक सोमबारदेखि पेनडाउनमा उत्रिएका हुन् । यद्यपी, जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले ‘क्लास नगरे कारबाही गर्ने’ चेतावनी दिएपछि उनीहरुले बुधबार नै पेनडाउन फिर्ता लिएका छन् ।
स्टाफ मिटिङकै निर्णय उल्टाउन राखिएका असन्तुष्ट शिक्षकको माग 
प्रअले सबै शिक्षक उपस्थित नभएको बेलामा स्टाफ मिटिङ बोलाएर निर्णय लादेकाले पेनडाउनमा उत्रनु परेको असन्तुष्ट शिक्षक बिष्णुबहादुर राउतले बताए । श्रोतव्यक्ती पेशल आचार्यले सबै शिक्षकलाई खबर नगरी शिक्षक प्रतिनिधि छान्ने निर्णय गराएकाले बिवाद आएको बताए । प्रअ बिष्णु राईले भने तीन जना बाहेक अन्य स्टाफकै छलफलबाट शिक्षक प्रतिनिधि छान्ने निर्णय गरिएको बताए । स्टाफ मिटिङमा दिपबहादुर राई, मेजर राई र एकबहादुर बुढाथोकी अनुपस्थित थिए । श्रोतका अनुशार उनीहरु बिदा नै स्वीकृत नगरी विद्यालयमा अनुपस्थित थिए । पेनडाउनमा उत्रिएका शिक्षकमध्ये दिपबहादुर स्टाफ कुटपिट मुद्धामा तारेख खेपीरहेका र मेजर परिक्षण कालमै छन् । व्यवस्थापन समितिको नेतृत्व पूरानै व्यक्तीले लिए विद्यालयको शैक्षिक गुणस्तर उस्तै रहने भन्दै यसपल्ट स्वतन्त्र टिमले दुर्छिम मावि सुधार मञ्चका नामबाट उम्मेदवारी दिएका थिए । शिक्षाको संयोजनमा कार्तिक २९ गतेको सर्वदलीय बैठकले खस्कँदो शैक्षिक स्तर उकास्नकालागि शिक्षकलाई राजनितीबाट टाढा राख्ने सहमती गरेको थियो ।