खोटाङ, ८ मंसिर ७ । खोटाङबाट प्रस्ताबित स्थानीय तहको खाकाको विषयमा स्थानीयस्तरमा भने असन्तुष्टी देखिएको छ । आफुहरुको राय र सुझाव नलिइ जिल्लास्तरका नेताले स्थानीय तहको खाका टुंगो लगाएर गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग समक्ष पठाइएको भन्दै गाउँ स्तरमा असन्तुष्टी देखिएको हो । 
स्थानीय तहको खाकालाई टुंगो लगाएर पठाउनु अघिसम्म शान्त रहेको गाउँबाट अहिले असन्तुष्टी पोखिन थालेका छन् । बिशेषगरी याम्खा, डाँडागाउँ, टेम्मा, लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी, दुबेकोल लगायतका गाबिसमा स्थानीय तहको खाकाका बिषयमा असन्तुष्टी देखिएको छ । आफ्नो नेताले आफुहरुलाई नसोधी खाका पठाएको भन्दै असन्तुष्ट बनेका स्थानीयको टोली माग पूरा गर्नकालागि सदरमुकाममै आएका छन् । 
टेम्मालाई अलग नगर्न माग गर्दै जिबिसमा आएका डाँडागाउँ, याम्खा र टेम्माका स्थानीय ।
जिल्लास्थित दलका ठूला नेताले आफ्नो माग बिपरित स्थानीय तहको खाका पठाएको भन्दै लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोलका स्थानीय आन्दोलनमा छन् । ६ गाबिसमा अनिश्चितकालिन बन्द गरेरै आन्दोलनमा उत्रिएका उनीहरुलाई स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले वार्तामा बोलाए पछि हाल बन्दलाई स्थगन गरिएको छ । उनीहरु वार्ताकै चरणमा छन् । समितिले पुःन दलका नेतासँग बसेर छलफल गरेर निष्कर्ष दिने भने पनि संघर्ष समितिले मंगलबार दिक्तेलमा पत्रकार सम्मेलन गरेर माग सुनुवाई नभए पुःन आन्दोलनमा फर्कने चेतावनी दिएका छन् । हौंचुर, कुभिण्डे, खार्पा, लामीडाँडा, दुबेकोल र डुम्रेधारापानीका स्थानीयको गत साउन २२ गते बसेको भेलाले यी गाबिसलाई समेटेर कुभिण्डेको हरम्टार केन्द्र रहने रावा गाउँपालिका बनाउन संघर्ष समिति बनाएको थियो । तर, आफ्नो भावनलाई लात मारेर स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले लामीडाँडा गाबिस हलेसी तुवाचुङ नगरपालिकामा, हौंचुर गाबिस रुपाकोट मझुवा नगरपालिकामा, खार्पा र कुभिण्डे गाबिस महुरेगढी गाउँपालिकामा, डुम्रेधारापानी र दुबेकोल गाबिसलाई ऐसेलुखर्क गाउँपालिकामा समाबेश गरेर गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग समक्ष सिफारिस गरिएको संघर्ष समितिका संयोजक फटिककुमार श्रेष्ठले बताए । 
जिल्लास्थित दलका नेताले सिफारिस गरेको खाकाले सदियौँदेखिको ऐतिहासिक, धार्मिक, सामाजिक भावना र सम्बन्धलाई समेत बिखण्डन गरेको संघर्ष समितिको भनाई छ । ‘पुःर्नसंचरनाका नाममा मर्दापर्दा चाहिने ईष्टमित्र र सम्बन्धलाई टुक्राउने गरिएको छ,’ संघर्ष समितिका सदस्य रमेश कार्कीले भने, ‘अन्यायपूर्ण तरिकाले हाम्रो घर एउटा नगरपालिकामा जग्गा अर्को गाउँपालिकामा बनाउने काम भएको छ ।’ सदियौँदेखि प्रयोग गर्दै आएको बनजंगल, पानी, खनिज लगायतका प्राकृतिक श्रोत समेत बिभाजित बनेको समितिका रामबहादुर राईले बताए । ‘कुभिण्डबासीको जग्गा खार्पा गाबिसमा, खार्पाबासीको कुभिण्डेमा, कुभिण्डेबासीको जग्गा हौंचुरमा रहेकाले यी गाबिस एकअर्काका परिपुरककारुपमा रहेको छ,’ राईले भने, ‘गाउँ टुक्राउँदा हामी सबैलाई भावबिह्वबल बनाएको छ ।’ 
यस्तै, स्थानीय तहको पुःर्नसंरचनाकाक्रममा याम्खा, डाँडागाउँ र टेम्मालाई अलग पारिएको भन्दै स्थानीय आन्दोलित छन् । एकआपसमा स्थापित भावनात्मक सम्बन्धलाई अलग पार्नेगरी डाँडागाउँ र याम्खालाई दिप्रुङ गाउँपालिकामा राखेर टेम्मालाई छुटाएर साकेला गाउँपालिकामा समाबेश गरिएको उनीहरुको गुनासो छ । जिल्लास्तरका नेताले आफ्नो भावनालाई नबुझी आफुखुसी खाका बनाएर सिफारिस गरेको संघर्ष समितिका सचिव दिपक पौडेलले बताए । हालसम्म प्रयोग गर्दैआइएको जल र जंगल लगायतका श्रोतकालागि पछि अर्को गाउँपालिकामा निर्भर पर्नुपर्ने अवस्था आउने भएकाले हालको खाका अबैज्ञानिक रहेको टेम्माका भुपुउपाध्यक्ष धनकुमार राईले बताए । ‘टेम्मा गाबिस अलग भए भविष्यमा हामीले श्रोतसाधनकालागि अर्को गाउँपालिकामा आश्रित हुनुपर्ने बाध्यता आउँछ,’ राईले भने, ‘पछि कर तिर्नुपर्ने अवस्था आउला, त्यसकारण हालसम्म स्थापित सम्बन्धलाई हामी बिगार्न चाहन्नौँ ।’ टेम्मा गाबिसलाई दिप्रुङ गाउँपालिकामा समाबेश गर्न, दिप्रुङ गाउँपालिकाको नाम चुइचुम्मा थुम तथा केन्द्र पैयूँडाँडा–गौँडे भञ्ज्याङ तोक्नु पर्ने उनीहरुको माग छ । बुधबारदेखि धर्ना, घेराउ र रिले अनसन लगायतका आन्दोलन गर्ने घोषणा गरेका संघर्ष समितिले स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिका संयोजक एबं स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेको आग्रहमा केही दिनकालागि स्थगन गरेका छन् । वार्तामा बसेर माग पूरा नभएसम्म नफर्कने उनीहरुको भनाई छ । 
उता, साउनेचौंरको सिन्ताङ केन्द्र रहने प्रस्ताबित बराहपोखरी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न माग उठिरहेको छ ।