
काठमाडौं १० वैशाख । उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २३ पुगेपछि प्रदेश नम्बर एक सरकारले जिल्लालाई सिल्ड गरेको छ । प्रदेश सरकारले संक्रमण अन्य जिल्लामा नफैलियोस् भनेर जिल्ला सिल्ड गरिएको जनाएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताएका छन् ।
उदयपुरको भुल्केमा पछिल्लो पटक ८ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको हो । उनीहरको कोसी अस्पतालमा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि परीक्षण गरिएको थियो । मंगलबार गरिएको पुनः परीक्षणमा पनि पोजिटिभ देखिएको हो ।
मस्जिदमा बसेका १२ जनामा संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमुना शनिबार संकलन गरिएको थियो ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । विराटनगरका एक जनामा शनिबार संक्रमण भेटिएको थियो ।
कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो। एकजनाको रिपोर्ट आउन बाँकी छ । नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । जसमध्ये चार जना निको भएर घर फर्किएका छन् । अन्यको देशको विभिन्न ठाउँमा उपचार जारी छ ।