खोटाङ, १३ मंसिर । खोटाङको प्रस्ताबित रुपाकोट मझुवागढी नगरपालिका र महुरेगढी गाउँपालिकाका तामाङ समुदायले तामाङ संरक्षित क्षेत्र घोषणाको माग गरेका छन् । 
प्रस्तावित रुपाकोट मझुवागढी नगरपालिका र महुरेगढी गाउँपालिकामा करिब ३५ सय बढि तामाङ समुदायको बसोबास रहेका कारण नेपाल तामाङ घेदुङका प्रतिनिधिले तामाङ संरक्षित क्षेत्र घोषणाको माग गरेका हुन् । 
सोमबार स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति समक्ष ज्ञापनपत्र बुझाउँदै उनीहरुले रुपाकोट आसपासका खार्मी, मुढे, छिप्ती, दम्कु, भरङ्गे लगायतका तामाङबस्तीलाई संरक्षित क्षेत्र घोषणाको माग गरिएको घेदुङका प्रतिनिधि पृथी जिम्बाले बताउनुभयो ।
 आयोगको कार्यबिधिमा गाउँ पालिका, नगरपालिका वा वडालाई संरक्षित क्षेत्रकारुपमा प्रस्ताव गर्न सकिने उल्लेख भए अनुशार रुपाकोट क्षेत्रको जनसंख्या र भुगोलका आधारमा तामाङ संरक्षित क्षेत्र बनाउन सिफारिसकालागि माग गरिएको हो । 
उनीहरुले तामाङ संरक्षित क्षेत्र घोषणाकालागि हस्ताक्षर समेत संकलन गरेका छन् । रुपाकोट क्षेत्र तामाङ समुदायको सघन बसोबास रहेको क्षेत्र हो । स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका संयोजक एबम् स्थानीय विकास अधिकारी निश्चलराज पाण्डेले मागलाई आयोग समक्ष सिफारिस गरिदिने बताए ।