
खोटाङ, मंसिर १४ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले एक लाख राशीको प्रतिभा पुरस्कार खोटाङका गीतकार टीका चामलीङलाई प्रदान गर्ने घोषणा गरेको छ । बेलायतमा स्थापित प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दैआएको पुरस्कार यस वर्ष गीतकार चामलीङलाई दिने घोषणा गरेको हो ।
नेपाली कला–साहित्य, संगीतलगायतका क्षेत्रमा योगदान दिने व्यक्तीको सम्मान तथा प्रोत्साहनमा स्थापित पुरस्कार आगामी पुष दोश्रो साता काठ्माण्डौंमा कार्यक्रम गरेर प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले बताउनुभयो । निरन्तर साहित्य क्षेत्रमा समर्पित रहेको भन्दै छनौट समितिले गीतकार राईलाई प्रतिभा पुरस्कार दिने निर्णय गरेको हो ।
बेलायतमा रहेका नेपालीले १० बर्ष अघि स्थापना गरेको प्रतिष्ठानले यसवर्ष २० हजार रुपैंयाँ राशीको प्रतिभा पुरस्कार गुल्मीका कथाकार भगिरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले अघिल्लो बर्ष संगीतकार बीबी अनुरागीलाई प्रतिभा पुरस्कार तथा लेखक प्रद्युम्न श्रेष्ठलाई सम्मान प्रदान गरेको थियो ।