मंसिर २० । पाठेघर खस्ने समस्या रोकथाम तथा न्यूनीकरणका लागि शीर मेमोरियल अस्पताल काभ्रेले खोटाङमा सचेतनामूलक अभियान सुरु गरेको छ ।
पाठे घर (आङ) खस्ने समस्याबाट महिलालाई मुक्ती दिनकालागि आवश्यक तयारी स्वरुप शीर मेमोरियलले सचेतनामूलक कार्यक्रम सुरु गरेको हो । अभियानको पहिलो दिन सोमबार शीर मेमोरियलले जिल्ला अस्पतालका स्वास्थ्यकर्मी, शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, पत्रकार लगायतका प्रमुख तथा प्रतिनिधिलाई सहभागी गराएर अभियानका बिषयमा जानकारी गराएको छ ।
पाठे घर खस्ने समस्यालाई रोकथाम एबं न्यूनीकरणकालागि जिल्लाका आठ स्थानमा सचेतनामूलक कार्यक्रम गर्ने तयारी गरिएको शीर मेमोरियल अस्पतालका बरिष्ठ कार्यकारी अधिकृत सुन्दर थापामगरले जानकारी दिनुभयो ।
७२ गाबिस र एक नगरपालिका रहेको जिल्लाका आठ स्थानमा प्रतिगाबिस तीन जना महिला स्वास्थ्य स्वयंसेबिका, प्रत्येक माबिका एक÷एक जना स्वास्थ्य, जनसंख्या तथा वाताबरण शिक्षा अध्यापन गर्ने शिक्षक र बिद्यार्थीलाई सहभागी गराएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छन् ।
पाठे घर खस्ने समस्या, यसका कारण र रोकथामका बिषयमा सचेतना फैलाउनकालागि बिहिबारदेखि पुस श्रो हप्तासम्म जिल्लाको चिसापानी, सिमपानी, बुईपा, दुर्छिम, ऐसेलुखर्क, बाक्सिला र दिक्तेलमा शिक्षामूलक कार्यक्रम सञ्चालन गरिने बरिष्ठ कार्यकारी अधिकृत थापागमरले जानकारी दिनुभयो । पाठे घर खस्नबाट जोगाउनकालागि सन्देश फैलाउन व्याख्यात्मक, प्रयोगात्मक, बृत्तचित्र, सडक नाटक लगायतका बिधिबाट महिला स्वास्थ्य कार्यकर्ता, शिक्षक र बिद्यार्थीलाई जानकारी दिइने छ ।