खोटाङ चैत–१३, खोटाङस्थित दिप्रुङ चुईचुम्मा गाउँपालिकाले विदेशबाट फर्किएका पाँच जनालाई क्वारेन्टाइनमा राखेको छ । रोजगारीका सिलसिलामा विभिन्न देश पुगेर हप्ता दिन यता घर आइपुगेका पाँच जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताउनुभयो ।

बुधबार तीन जनालाई क्वारेन्टाइनमा राखेको गाउँपालिकाले बिहिबार सिक्किमबाट चैत १० गते घर आइपुगेका दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुका ३१ वर्षका परियार थरका एक जना र तामाङ थरका एक पुरुषलाई पनि क्वारेन्टाइनमा ल्याएर राखेको हो । उनीहरुलाई गाउँपालिकाले खाने सुविधा दिएर क्वारेन्टाइनमा राखेको जनाएको छ ।
विदेशबाट फर्किएका वा संक्रमणको आशंका गरिएका स्थानीयलाई १४ दिनसम्म राख्नका लागि गाउँपालिकाले याम्खा स्वास्थ्यचौकीमा बुधबार ४० शैयाको क्वारेन्टाइन तयार पारेको हो ।

गाउँपालिकाले क्वारेन्टाइन स्थापनाकै दिन वेस्टबंगालबाट चैत ८ गते घर आइपुगेका २२ वर्षीय युवा, सोही दिन भारतको मेघालयबाट फर्किएका ४७ वर्षका एक पुरुष र चैत ३ गते साउदीअरवबाट फर्किएका ३० वर्षीय युवालाई क्वारेन्टाइनमा राखेको थियो । विदेशबाट फर्किएका अन्य युवालाई पनि खोजी गरेर गरेर क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तीन जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विदेशबाट फर्किएका खानीडाँडा, रत्नपार्क र पञ्चरदोबाटोका एक/एक जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तिर्थ आचार्यले बताउनुभयो । नगरपालिकाका अनुसार सेल्फ क्वारेन्टाइनमा राखिएका मध्ये दुई जना कतार र एक जना जापानबाट फर्किएका हुन् ।