खोटाङ, पुस १ । खोटाङको दिक्तेल बहुमुखी क्याम्पसलाई नमूना क्याम्पस बनाउनकालागि आवश्यक रकम जुटाउन धार्मिक महोत्सब गर्न लागिएको छ । २०३७ सालमा स्थापना गरिएको क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका बिभिन्न संकायतर्फका बिषय थप गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नकालागि श्रोत जुटाउन धार्मिक महोत्सब गर्न लागिएको हो । 
क्याम्पसको शैक्षिक तथा भौतिक बिकासकालागि ‘दिक्तेल बहुमुखी क्याम्पसको सुनौलो अभियान, कार्यक्रम बिस्तार एबं गुणस्तर सुधार हाम्रो अभियान’ भन्ने नारासहित आगामी चैत्र ५ गतेदेखि १२ गतेसम्म सदरमुकाम दिक्तेलमा सर्वधर्म महोत्सब सञ्चालन गर्ने तयारी गरिएको क्याम्पस प्रमुख प्राध्यपक डा. शुकराज राईले बताउनुभयो । धार्मिक महोत्सव सञ्चालनकालागि १०८ राष्ट्र शान्ति धार्मिक महोत्सबका संकल्पकर्ता गोबिन्दशरण महाराजजीको उपस्थितिमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष देबी रिजालको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय महोत्सब मूल आयोजक समिति गठन गरिएको छ । 
त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा २०७० सालदेखि दिक्तेल क्याम्पसमा पहिलोपल्ट मानबिकी संकायतर्फ नेपाली बिषयमा स्नातकोत्तर तहको कक्षा सुरु गरिएको थियो । यस शैक्षिकसत्रबाट समाजशास्त्रतर्फको कक्षा सुरु गर्ने तयारी भएको क्याम्पसमा धार्मिक महोत्सवबाट जम्मा हुने रकमबाट अन्य संकायतर्फका बिषय थप गरिने क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष जीवन श्रेष्ठले बताउनुभयो ।