खोटाङ, पुस ४ । राप्रपा नेपाल खोटाङले निर्वाचन समिति गठन गरेको छ । तारा राई ‘चन्द्रकला’को अध्यक्षतामा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । राप्रपा र राप्रपा नेपालको एकीकरण घोषणाको दोश्रो दिन आईतबार बसेको पार्टीको बैठकले निर्वाचन समिति बनाएको हो ।
बैठकले दुई महिनाभित्र जिल्ला अधिबेसन गर्ने निर्णय गरेको राप्रपा नेपालका सहअध्यक्ष ललित राईले जानकारी दिनुभयो । दुई जिल्ला कार्यसमिति एक भएको राप्रपा नेपालले जिल्लाका ७२ गाबिस र एक नगरपालिकामा पनि एकीकरण अभियान चलाउने तथा समिति नभएका ठाउँमा संगठन बिस्तार गर्ने कार्यक्रम सुरु गरेको छ । राप्रपा नेपालले सोमबारदेखि राजपरिषदका पुर्वप्रतिनिधि स्वर्गीय पर्शुराम राईको नेर्पास्थित घरबाट संगठन बिस्तार अभियान सुरु गरेको हो । नेर्पामा रघुनाथ पराजुलीको अध्यक्षतामा राप्रपा नेपालको २३ सदस्यीय गाउँ कार्य समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा गोकुल राई, सचिवमा नखतबहादुर राई, सह–सचिवमा दिनेश पराजुली र कोषाध्यक्षमा मिरा राई चयन हुनुभएको छ । राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवन श्रेष्ठको प्रमुख आतिथ्य, सह–अध्यक्ष ललित राईको बिशेष आतिथ्यमा समिति गठन गरिएको हो । कार्यक्रममा राप्रपा नेपालका केन्द्रीय सदस्य रबिन राई, बिजयकला राई, जिल्ला सदस्य ज्ञानबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।