खोटाङ, पुस ६ । खोटाङ सदरमुकाम दिक्तेलमा हलेसी साबुन उद्योग उदघाटन गरिएको छ । दिक्तेल नगरपालिका–९ का युवाद्धय सुरेश कार्की र नरेन्द्र कार्कीले संयुक्तरुपमा सुरु गरेको साबुन उद्योग घरेलु तथा साना उद्योग बिकास समिति खोटाङका प्रमुख लोकनाथ खतिवडाले उदघाटन गर्नुभएको हो । गत मंसिरमा साबुन उत्पादन सम्बन्धी तालिम लिएका कार्कीद्धयले ७ लाखको लगानीमा दिक्तेलमा आफ्नै साबुन उद्योग सञ्चालनमा ल्याएका हुन् ।
काठ्माण्डौंबाट केमीकल लगायतका कच्चा पदार्थ ल्याएर साबुन उत्पादन गर्दै उद्योग सुरु गरिएको उद्योगका प्रोपाईटर सुरेश कार्कीले बताउनुभयो । डल्लो र आयताकारको स्थानीय साबुन बजारमा तराईबाट आउने साबुन सरह गुणस्तर, मूल्य र उपयोगी रहेको उद्योगले दाबी गरेको छ । तीन वटा साबुन अटाइएको एक केजी बराबरको साबुनको एउटा प्याकको मूल्य ९० रुपैयाँ तोकिएको छ ।
उद्योग उदघाटन कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघ खोटाङका अध्यक्ष रामबहादुर राईले स्थानीय कच्चा पदार्थलाई उपयोग गरेर साबुन उद्योगलाई अघि बढाउन सुझाव दिनुभयो ।