खोटाङ, १७ पुस । किराती राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलन अन्तरगत आज दिउसोबाट बन्दसत्र सुरु हुने भएको छ । खोटाङको दिक्तेलमा शनिबार उद्घाटन गरिएको मोर्चाको चौथो राष्ट्रिय सम्मेलनको बन्दसत्रका लागि अहिले आयोजक समितिको बैठक चलिरहेको नेताहरुले बताएका छन् । 
नेकपा (माओवादी केन्द्र)को भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट सर्वसहमतीमा नयाँ नेतृत्व चयन हुने स्रोतले जनाएको छ । नयाँ समितिको अध्यक्षमा राजन किराती (बासु), दुर्गा राई र अशोक राईको नाम अहिले चर्चामा रहेपनि सर्वसहमतीमा नै नयाँ नेतृत्व चयन हुने मोर्चाको दाबी छ । 
माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा पूर्व रक्षामन्त्री रामबहादुर थापा (बादल) ले उद्घाटन गर्नुभएको सम्मेलनमा देशभरका किरातीहरु सहभागी भएका छन् । सम्मेलनमा सहभागी सबै प्रतिनिधि तथा पर्यवेक्षकले सहमतीमा नेतृत्व चयन हुनुपर्नेमा जोड दिएको आयोजक समितिले जनाएको छ । 
कार्यक्रममा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्यहरु गोपाल किराती, सुरेश आलेमगर, समिता कार्की (अस्मिता) लगायत केन्द्रीय नेताहरुको उपस्थिति रहेको छ । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा शनिबार आयोजना गरिएको कार्यक्रममा किरात जन साँस्कृति परिवारको बेजोड प्रस्तुती रहेको थियो ।