‘काण्डै काण्डले भरिएको सरकारले माखै मार्दैन’ : महामन्त्री कोईराला

खोटाङ असोज–७, नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले नेकपाको दुई तिहाईको सरकारले माखो नमार्ने बताउनुभएको छ । मंगलबार खोटाङको दिक्तेलमा आयोजित कांग्रेसको दोश्रो चरणको राष्ट्रिय जनजागरण कार्यक्रम समापन तथा बिरोधसभालाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले वर्तमान सरकारले आफै विकासको कुनै पनि योजना तर्जुमा गर्न नसकेको बताउनुभएको हो ।

कोईरालाले वर्तमान सरकार काण्डै–काण्डले भरिएको आरोप लगाउनुभयो । निर्मलाहत्या काण्ड, बुढीगण्डकी काण्ड, बालुवाटारको जग्गा काण्ड जस्ता विभिन्न काण्डले भरिएको सरकारलाई जनताले चिन्नुपर्ने उहाँको भनाई छ । वर्तमन सरकारले आजका मितिसम्म विकासको कुनै योजना तर्जुमा गर्न नसकेको भन्दै भएका योजना बिपिको समयमा, शुसिलको समयमा अथवा शेरबहादुरको पालामा सुरु भएको दावी गर्नुभयो ।

महामन्त्री कोईरालाले दुई तिहाईको सरकार दम्भ पालेर पानी जहाज ल्याइदिने र रेल ल्याइदिने भन्दै सपनै सपनामा विलाइरहेको जनाउनुभयो । कोईरालाले नेपालको संविधानमाथि आक्रमण हुने खतरा देखिएकाले सबैले मिलेर बचाउनुपर्नेमा जोड दिनुभयो । करिब ९ मिनेटमै आफ्नो सम्बोधन टुंग्याएका कोईरालाले कांग्रेसलाई कसैले हराउन नसक्ने भए पनि गुट–उपगुटले कांग्रेसलाई ध्वस्त पारेको बताउनुभयो ।