खोटाङ, १ माघ । खोटाङको एक मेगावाट क्षमताको मेवा खोला हाईड्रोपावर उदघाटन गरिएको छ । गत मंसिर १८ गतेदेखि केन्द्रीय प्रशारण लाईनमा जोडेर परिक्षण प्रशारण सुरु गरिएको मेवा खोलालाई शुक्रबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले उदघाटन गरेका हुन् । 

मेवा खोला खोटाङमा हालसम्म पूरा भएका जलबिद्युत आयोजनामध्ये सबैभन्दा ठूलो योजना हो । दुई वर्षमा पूरा भएको मेवा खोलाको उदघाटनसँगै राष्ट्रिय प्रशारणलाईनमा औपचारिकरुपमा थप एक मेगावाट बिद्युत थप भएको छ । दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट उत्पादित बिद्युतलाई हाल दिक्तेल–गाईघाट ११ केभीए ट्रान्समिसन लाईनको बुईपास्थित सव–स्टेशनमा जोडिएको साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो । समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाईमा बैंक आफ काठ्माण्डौंको ७० प्रतिशत गरी २२ करोडको लागतमा हाईड्रोपावरको काम पूरा भएको हो ।
मेवा खोलाको परिक्षण प्रशारण सुरु भएपछि खोटाङ र ओखलढुंगाका केही गाबिसमा लोडसेडिङ अन्त्या भएको छ ।
जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनीले पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरेको थियो ।  चिनीय विज्ञको टोलीले टेस्टिङ र कमिसनिङका काम गरे लगत्तै गत मंसिर १४ गते मेवा खोलाबाट पहिलोपल्ट बत्ती बालिएको आयोजनाका कोअर्डिनेटर ललित राईले बताउनुभयो । केन्द्रीय प्रशारणलाईनमा जोडिए पनि स्थानीयस्तरमै प्रयोग गर्न मिल्नेगरी पूरा गरिएको हाईड्रोपावरले लोडसेडिङको मार खेपीरहेका जिल्लाबासी उत्साहित छन् । मेवा खोला हाईड्रोपावरका कारण हाल छिटफुट बाहेक जिल्लामा चौबिसै घण्टा बत्ती बलीरहेको छ । निरन्तर बत्ती आउन थालेपछि बिद्युतीय उपकरणका माध्यमबाट सञ्चालन हुने हरेक काम नियमित भइरहेको छ । 

 २०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाईड्रोपावरको काम लगातार दुई पटक
आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्षदिन पछाडि धकेलिएको हो ।
पाँच वर्षअघि सम्पन्न खोटाङको १८ औं जिल्ला परिषदले जिल्लालाई लोडसेडिङ
मुक्त बनाउने योजना पारित गरेपछि मेवा खोला लगायतका हाईड्रोपावरको कामलाई
द्रुत गतिमा अघि बढाइएको थियो ।