खोटाङ ३ साउन
वर्षापछि आएको बाढी र पहिरोका कारण सडक आवात जावतमा समस्या भएसँगै खोटाङको दिक्तेलसहितका बजारमा दैनिक उपभोग्य सामानको मौज्दात रित्तिने अवस्थामा पुगेको छ ।

खोटाङ उद्योग वाणिज्य संघले आज एक विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य सामानको मौज्दात रित्तिने अवस्थामा पुगेको भन्दै खोटाङ जिल्लाको मुख्य व्यापारिक मार्गको रुपमा रहेको कटारी घुर्मि–दिक्तेल सडक पूर्ण रुपमा खुलाउन आग्रह गरेको छ ।

‘खोटाङ जिल्लाको मुख्य व्यापारिक मार्गको रुपमा रहेको कटारी – घुर्मि – दिक्तेल सडक पुर्ण रुपमा संचालनमा आउन अझै केहि दिन लाग्ने भन्ने सुचना प्राप्त भएको छ । सदरमुकाम दिक्तेल लगायत बजारमा दैनिक उपभोग्य सामानको मौज्दात कम भइरहेको बजार सवेक्षणले देखिएको हालै लोक सेवा आयोगले लिने परिक्षामा लोक सेवा आयोग खोटाङ कार्यालय दिक्तेल अन्र्तगत परिक्षामा सामेल हुने करिब ७००० परिक्षार्थी रहेको सन्दर्भमा हाल रहेको मौज्दातले केहि समयको लागि मात्र धान्ने भएकोले तत् पश्चात अभाव सृजना भई जनजिवन समेत प्रभावित हुने भएकाले सम्वन्धित सबै सरोकारवाला निकायबाट सडक चाँडो खुलाउन पहल कदमीको लागी खोटाङ उद्योग वाणिज्य संघ हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपी, दिक्तेल–काठमाडौं सिधा यातायात भने आजैदेखि सञ्चालन भएको छ । तर, खोटाङ जिल्लाको मुख्य व्यापारिक मार्गको रुपमा रहेको कटारी – घुर्मि – दिक्तेल सडक पूर्ण रुपमा संचालनमा आउन सकेकाे छैन ।

दिक्तेलमा साउन ४ गतेका दिन बजार सवेक्षणमा चामल सबै किसिमको गरी ३३५०० केजि, दाल सबै किसिमको गरी २९७० केजि, खाने तेल सबै किसिमको गरी ८३४ काटन, चिनि ५१०० केजि र ग्यास ३८ थान मौजाद रहेको खोटाङ उद्योग वाणिज्य संघले जनाएको छ । विपदको घडिमा सम्पुर्ण व्यवसायीहरुलाई मंहगी कृतिम अभाव जस्ता कार्य नगरी दिनहुन संघले आग्रह समेत गरेको छ ।