खोटाङ असार–३१, लोकसेवा आयोगको विज्ञापन सच्यान माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्ले एकै दिन दिक्तेलका नौं स्थानमा कोणसभा गरेको छ । संविधानको भावना र मर्म विपरीत आयोगले विज्ञापन खुलाएको भन्दै बिरोधमा उत्रिएको महासंघको नेतृत्वमा मंगलबार एकैसाथ दिक्तेलको ९ स्थानमा कोणसभा गरिएको हो ।
आदिबासी, जनजाति, दलित, मधेशी, मुस्लिम लगायतको अधिकार कटौती हुने गरी विज्ञापन निकालिएको भन्दै महासंघको अगुवाईमा अन्तरपार्टी महिला सञ्जाल, किरात राई यायोक्खा, नेवाः देय दवु लगायतले विरोध जनाईरहेका छन् । सामाजिक गुठी दिक्तेलबजार, खोटाङ दलित विकास मञ्च, अपांग सेवा संघ, भुजेल सेवा समिति, तामाङ घेदुङ, नेपाल मगर संघ, तमु छोँजधि गुरुङ राष्ट्रिय परिषद र किरात सेवा समाज खोटाङले पनि आन्दोलनमा ऐक्यवद्दता जनाएका छन् । यस्तै, किरात राई बिद्यार्थी संघ, आदिबासी जनजाती पत्रकार महासंघ, किरात राई पत्रकार संघ लगायतका जनजाती संगठनले संयुक्त रुपमा आन्दोलन गरिरहेका छन् । संगठनले दिक्तेलको हाटडाँडा, भानुचोक, त्रिबेणीचोक, नगरपालिका, बेसक्याम्प, संगमपार्क, किरातचोक, बैंकचोक र भवनगैरामा बिरोध स्वरुप कोणसभा गरेका हुन् ।
कोणसभालाई किरात राई पत्रकार संघका केन्द्रीय अध्यक्ष भीम राई, नेपाल आदिबासी जनजाती महासंघका अध्यक्ष हात्तीराम राई, महासचिव रबिन खम्बु, खोटाङ दलित विकास मञ्चका मिलन चाहार लगायले सम्बोधन गरेका छन् । बक्ताहरुले आयोगले खुलाएको विज्ञापन असमान भएको भन्दै आलोचना गरेका छन् । किरात राई पत्रकार संघका अध्यक्ष राईले सविधानमा उल्लेख भएको आरक्षण कोटा अनुसार आयोगको विज्ञानपन खुल्नुपर्नेमा जोड दिनुभयो । जनजाति संगठनहरुले यसअघि सोमबार सिट्ठी जुलुस र आईतबार राती राँके जुलुस निकालेका थिए ।
विरोधस्वरुप साउन २ गते र १० गते नेपाल बन्दको आह्वान गरेको जनाएको छ ।