खोटाङ असार–२८, खोटाङमा बर्षासँगैको पहिरोले घर बगाउँदा श्रीमति र दुई छोरा गुमाउने परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । शुक्रवार विहानको पहिरोले घर बगाउँदा श्रीमति तथा दुई छोरा गुमाउने खोटेहाङ गाउँपालिका–३ का ३१ बर्षिय घाईंते बिष्णु राईको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको हो ।

पहिरोमा परी बिष्णुको २८ वर्षिया श्रीमती रेखा राई, ४ वर्षको छोरा रोमन राई र सात महिनाको छोरा रोजन राईको ज्यान गएको थियो । सोही पहिरोमा परिवारसँगै बग्दा घाईंते बिष्णुको परिवारलाई शनिवार खोटाङ प्राकृतिक प्रकोप राहत कोषले १५ हजार रुपैंयाँ सहयोग हस्तान्तरण गरेको जनाईएको छ । हाल स्थानीय स्वास्थ्य संस्थामा उपचाररत बिष्णुलाई बगेको केही समयमा नै स्थानीयले उद्दार गरेका थिए ।

खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदिप राईसहित संयुक्त रुपमा पीडितका वुवा नीरवहादुर राईलाई रकम हस्तान्तरण गरिएको कोषको खोटेहाङ गाउँपालिका प्रतिनिधि इन्द्र नारथुङेले बताउनुभयो । हङकङमा कार्यरत खोटाङेहरुको पहलमा रकम संकलन गरि स्थापना गरिएको कोषमार्फत प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गर्दै आएको नारथुङेको भनाई छ ।
यस्तै, खोटेहाङ गाउँपालिकाले घटनास्थलको स्थलगत अध्ययन गरि मृतक परिवारलाई नगद दस हजार रुपैंयाका साथमा त्रिपाल प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष प्रदिप राई, उपाध्यक्ष कविता राई लगायत वडाध्यक्ष तथा कर्मचारीहरु स्थलगत अध्ययन गर्न घटनास्थल पुगेका थिए । काजकिरिया खर्च स्वरुप उक्त रकम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

अध्ययनका क्रममा सोही क्षेत्रमा जोखिममा परेका अन्य ६ घर परिवारलाई पनि त्रिपाल हस्तान्तरण गरिएको छ ।

वर्षा अझै नरोकिएको हुँदा थप विपत्ति आइलाग्ने सम्भावना भएकोले जोखिमपूर्ण घरमा नबस्न र त्यस्ता ठाउँमा नजान पालिकाले अनुरोध गरेको छ ।