खोटाङ असार–२३, खोटाङस्थित साकेला गाउँपालिका–३ खिदीमाको रमणीयस्थल तावा भञ्ज्याङमा १ नम्बर प्रदेशकै नमूना ताल निर्माण गरिने भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीय स्थलमा प्रदेश सरकार र गाउँपालिकाको आर्थिक लगानी हुने गरी कृतिम ताल निर्माणको प्रक्रिया थालिएको हो ।

समुन्द्री सतहदेखि २ हजार मिटरको उचाईमा रहेको तावा भञ्ज्याङमा साँढे ६ सय मिटर लम्बाई र ५ सय मिटर चौडाई रहनेगरी ताल निर्माण गर्ने तयारी गरिएको छ । ताल निर्माणका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा ५५ करोड रुपैंयाँको लागत स्टिामेट निकालिएको गाउँपालिकाको अध्यक्ष अर्जुनकुमार खड्का(झङकार)ले बताउनुभयो ।

ताल निर्माणका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्रदेश सरकारले गर्ने मुख्यमन्त्री शेरधन राईले आश्वासन दिनुभएको अध्यक्ष खड्काको भनाई छ । ताल निर्माणपछि तावा भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन हुने भएपछि स्थानीय हर्षित बनेका छन् ।

तावा भञ्ज्याङ प्राकृतिक सौन्दर्य तथा विभिन्न वन्यजन्तु अवलोकन गर्न समेत सकिने ठाउँमा पर्दछ । टेम्के, मैँयू लगायतका रमणीय स्थानका नजिकै पर्ने तालमा पुग्नलाई छोटो सडक रुट बनेकाले तराईका जिल्लाबाट समेत पर्यटक आउने स्थानीय सुनाउँछन् ।

तावा खोलाको शीर थुनेर निर्माण गरिने ताललाई मुन्धुम ट्रेलसँग समेत सम्बन्ध जोड्ने योजना बनाइएकाले यसको भविष्य उज्ज्वल रहेको छ । गरिने आधुनिक तरिकाले निर्माण तालबाट आसपासमा रहेको पर्यटकीयस्थल पुग्न पदमार्ग समेत निर्माण गरिने जनाइएको छ ।

ताल निर्माणपछि आसपासमा पानीको स्रोत बढ्नुका साथै पर्यावरणमा समेत सघाउ पुग्ने जनाइएको छ । कम्तिमा १२ देखि १५ मिटर गहिराई रहने ताल निर्माणपछि डुङ्गा सयर, माछा तथा हाँस पालन लगायतमा सहज हुने गाउँपालिकाले जनाएको छ ।

तावा भञ्ज्याङ वरिपरी लालीगुँरास, चिमाल, सुनाखरी, चाँप, सुनपाती, भैरुङपाती लगायतका फूल तथा जडीबुटीहरु पाइन्छन् । लेकाली जीवजन्तु (हरिण, मृग, घोरल, खरायो आदि) प्रशस्तै भेटिने तावा भञ्ज्याङमा अहिले पनि दैनिक आन्तरिक तथा बाह्य पर्यटक घुम्न र वनभोज खान आउने गरेको स्थानीयबासीहरुले बताएका छन् ।