खोटाङ, १४ फागुन । पुर्वी नेपालका चार जिल्लाका आचार्य समुदायले खोटाङ सदरमुकाम दिक्तेलमा कुलपूजा देवाली गर्ने तयारी गरेका छन् । खोटाङ, भोजपुर, ओखलढुंगा र उदयपुरका कौडिण्य गोत्रभित्रका आचार्य समुदायले दिक्तेलस्थित पञ्च माबिको प्रांगणमा सामुहिक रुपमा धुमधामका साथ देवाली पूजा गर्ने तयारी गरेका हुन् ।
आगामी फागुन १७ गते कुलपूजा देवाली धुमधामका साथ गर्ने तयारी गरिएको कुलपूजा मूल समितिका अध्यक्ष जयप्रसाद आचार्यले बताए । कुलपुजाको तयारी पूरा भएको मुल समितिले जानकारी दिएको छ । आचार्य बाहेक जिल्लाका घिमिरे, पराजुली, बजीमय, दर्जी, धमला र माउण्टएभरेष्ट बोर्डिङ स्कुलले समेत देवालीमा भाकल पूजा गर्ने गरेका छन् । आचार्यका अनुशार कौडिण्य गोत्रभित्र करिब ५ सय घर आचार्य छन् ।
गत वर्षको देवालीमा २ हजार ६१६ वटा बोकाको बली दिइएको थियो । बिक्रम संबत १८१६ सालबाट सुरु गरिएको देवाली पूजाका लागि दिक्तेल, बुईपा, बड्कादियाले, दोर्पा, नेर्पा, डुम्रेधारापानी, लफ्याङ, बुईपा लगायत छिमेकी जिल्लाका आचार्य बोको लिएर दिक्तेल आउने गरेका छन् । बिवादका कारण बिक्रम संम्बत १९९२ सालदेखि फरक–फरक ७ स्थानमा मनाउने गरिएको देवाली युवा तथा बुद्धिजिबीको पहलमा पुःन २०६२ सालदेखि एकै ठाउँमा मनाउन थालिएको कुलपूजा आयोजक समितिका सचिव किशोर आचार्यले बताए । यसपल्टको देवाली संयुक्तरुपमा मनाउन थालिएको पाँचौं हो ।
बि.सं. १६०० सालभन्दा अघि तनहुँबाट दिक्तेल आएका रामचन्द्र आचार्य पछिको पाँचौं पुस्तामा बासुदेब र बिरन्ची नामका सन्तान जन्मिए । धामी बनेर निस्किएका बिरन्चीको पालादेखि आचार्यको देवाली सुरु भएको दिक्तेलका बुढापाका बताउँछन् । चौंलागाई थरका व्यक्तीसँग जग्गा मुद्धामा ओखलढुंगा जेलमा थुनिएका बिरन्ची देवाली सुरु भए लगत्तै जेल तोडेर दुई घण्टामै देवाली गर्न दिक्तेल आइपुगेको इतिहास छ ।
पूजाकै क्रममा आइपुगे स्थानीय राजबर्ने दमाईको सेतो बोको मेडो दिने दाजुभाईको सल्लाह अनुशार बिरन्चीलाई राजबर्नेको बोको दिइएको थियो । देवाली सकेर पुःन अदालतमा हाजिर हुन गएकामा तत्कालिन सरकारले बिरन्चीलाई सजायमा छुट दिएको मूल समितिका अध्यक्ष आचार्यले बताए । बिरन्चीलाई मेडो स्वरुप बोको दिएकामा हालसम्म राजबर्नेका सन्तानले आचार्यसँगै देवाली गर्दैआएका छन् । दिक्तेलमा रामचन्द्रका १२ औं पुस्ता पुगीसकेको छ । पाँच पुस्ता बितिसकेको र सात पुस्ता अझै जिबित छन् ।