खोटाङ, २३ फागुन । खोटाङको बडरहेस्थित लक्ष्मी माबिका प्रअ राजेन्द्रप्रसाद दाहालमाथि बिद्यालयको रकम अनियमितता गरेको आरोप लगोको छ । प्रअ दाहालमाथि आर्थिक वर्ष २०७०/०७१ देखि हालसम्ममा बिद्यालयको लाखौँ रुपैयाँ रकम अनियमितता गरेको अभिभाबकको आरोप छ । 
कक्षा ११ र १२ सञ्चालनका लागि धरौटी स्वरुप राखिएको ४ लाख, भवन निर्माण लगायतका शिर्षकको ८ लाख रकम अनियमितता भएको एक अभिभाबकले बताए । विद्यालयमा आर्थिक अनियमितता भएकै कारण हाल जिल्ला शिक्षा कार्यालयले बिद्यालयको खाता रोक्का गरेको छ । 
प्रअ दाहालले आर्थिक वर्ष २०७०/०७१ देखि २०७२/०७३ सम्मको सामाजिक लेखा परिक्षण नगरी आन्तरिक लेखा परिक्षण गरेर आर्थिक पारदर्सिता कायम नगरेको बताइएको छ । उनले सामाजिक लेखा परिक्षण नै नगरी कागजात मिलाएर आन्तरिक लेखा परिक्षण गराउने गरेको अभिभाबकको गुनासो छ । उनीमाथि गत साल जिल्ला शिक्षा कार्यालयबाट ४ कोठे भवन निर्माणका लागि प्राप्त २४ लाख रुपैयाँमध्ये पहिलो किस्ता वापतको रकमको हिसावकिताव नदेखाएको आरोप छ । दाहालले उच्च माबि सञ्चालनका लागि राखिएको धरौटी रकम भने कर्मचारीलाई तलव खुवाउन प्रयोग भएको जवाफ दिने गरेका छन् । 
आर्थिक अनियमितताको बिषयलाई लिएर अभिबाकले प्रश्न उठाउन थालेपछि पन्छिनका लागि प्रअ दाहालले दुई पटक दिएको राजीनामा हालसम्म स्वीकृत हुन सकेको छैन । गत वर्ष राजीनामा दिएका दाहालले गत फागुन १५ गते दोश्रोपल्ट राजीनामा दिएका छन् । प्रअ दाहालले बिद्यालयको सालेप र आलेप नगरेसम्म राजीनामा स्वीकृत नहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषकुमार पौडेलले बताए । 
आर्थिक अनियमितताका बिषयलाई किनारा लगाउन १५ दिनअघि देखि सुरु गरिएको सालेपको प्रयास अझै सफल हुन सकेको छैन । प्रअ दाहालले विल भरपाई देखाउन नसक्दा र देखाएको विल पनि किर्ते देखिएका कारण सालेपमा समस्या आएको अभिभाबक टिकाबहादुर वस्नेतले बताए । आर्थिक वर्ष २०७०÷०७१ को सालेप गर्नेक्रममा १ लाख ५० हजार रुपैयाँ हिनामिना भएको भेटिएपछि प्रअले अन्य आर्थिक वर्षको फायल नदेखाउँदा नमानेपछि सालेप गर्न नसकिएको हो । 
प्रअ दाहालले भने आर्थिक अनियमितताको आरोपको खण्डन गरेका छन् । आलेप र सालेप गर्नका लागि पटक–पटक व्यवस्थापन समितिलाई आग्रह गर्दा बेवास्ता गरेको प्रअ दाहालले बताए ।