खोटाङ २७ फागुन । आदिबासी जनजातीको इतिहास, पुरातत्व, भाषा, धर्म र संस्कृति झल्कनेगरी स्थानीय तहको पुनःसंरचना नगरिएको भन्दै नेपाल आदिबासी जनजाती महासंघ खोटाङले प्रशासन कार्यालयमा धर्ना दिएको छ ।

नेपालको संबिधान २०७२ र स्थानीय तह पुनःसंरचना आयोगको कार्यशर्त, कार्यविधि, मापदण्ड विपरित स्थानीय तहको सिमांकन र नामाकरण गरिएको बिरोधमा जनजाती महासंघले बिहिबार जिल्ला प्रशासन कार्यालयमा तीन घण्टा धर्ना दिएको हो ।

राज्य पुनःसंरचनाका क्रममा आदिबासी जनजातीको पहिचानलाई समाप्त पार्ने कार्यमा राज्य उद्धत भएको भन्दै महासंघका टोलीले दिउँसो १ बजेदेखि ३ बजेसम्म धर्ना दिएको हो । पुनःसंरचाकाक्रममा आदिबासी जनजातीको संरक्षण क्षेत्र, आरक्षण क्षेत्र, बिशेष क्षेत्र र स्वयत्त क्षेत्र समेत उल्लेख गर्न नमान्ने घृणित कार्यप्रति बिरोध जनाउँदै धर्ना दिइएको नेपाल आदिबासी जनजाती महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताए ।
फागुन १९ गतेदेखि बैसाख ९ गतेसम्मका लागि पुर्वघोषित बिरोधका कार्यक्रम अनुशार महासंघले कार्यालयको कामकाजमा बाधा नपुग्नेगरी व्यानर सहित प्रशासन अगाडि धर्ना दिएका हुन् ।

उत्पीडित समुदायको आत्मसम्मान, पहिचान, संघीयता, धर्मनिरपेक्षता र भाषा, संस्कृति जस्ता मागका बिषयमा राज्य उदासिन देखिएको महासंघले जनाएको छ । आदिबासी जनजाती, मधेसी लगायतको जायज मागलाई राज्यले शक्तीको दुरुपयोग गरेर बञ्चित गराउँदै आएकाले बिरोधमा उत्रनु परेको अध्यक्ष राईले बताए ।
महासंघले सप्तरीमा सोमबार भएको घटनाप्रति भत्र्सना गरेको छ । घटनाले मानव अधिकार र कानूनी राज्यको खिल्ली उडाउँदै मानवको बाच्न पाउने स्वतन्त्र अधिकार हनन् भएको महासंघले जनाएको छ । राज्य र जिम्मेवार पार्टीको गैर–जिम्मेवारका कारण सप्तरी घट्ना घटेको महासंघको ठहर छ ।
महासंघले सप्तरी घट्नाका बिषयमा उच्चस्तरिय छानबीन समिति गठन गरेर दोषीलाई कारबाहीको माग गरेको छ ।