सरकारले नयाँ संविधान अनुसार स्थानीय निकायको ठाउँमा स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै जिल्ला विकास समितिको बोर्ड जिल्ला समन्वय समितिमा फेरिएको छ । खोटाङ जिविस कार्यालयमा साेमबार नै जिल्ला समन्वय समिति लेखिएको बोर्ड राखिएको छ ।
सरकारले ७ सय ४४ वटा स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै गाविस र जिविस रद्ध भएका हुन् । अब जिविसको काम गाउँपालिका तथा नगरपालिकाले गर्ने छ भने जिविसलाई समन्वय समितिका रुपमा परिवर्तन गरिएको छ । समितिले पालिकाहरुबिच समन्वयकारी भूमिका मात्र निर्वाह गर्नेछ ।
नयाँ संविधानले कार्यकारी अधिकार नै गाउँपालिका तथा नगरपालिकालाई दिएको छ । जिल्लामा १० वटा स्थानीय तह (पालिका) बनाइएको छ । यसअघि जिल्लाबाट हुने काम अब तिनै पालिकाबाट गर्न सकिनेछ । तर, कतिपय टाठाबाठाले स्थानीय तहको केन्द्र आफू नजिक बनाउन चलखेल गर्दा कतिपय ठाउँका बासिन्दालाई अप्ठ्यारो पार्ने गरी चलखेल भएको समेत पाइएको छ ।
सरकारले ३१ वैशाखका लागि स्थानीय तहको निर्वाचन मिति समेत घोषणा गरेको छ । स्थानीय तहमा निर्वाचन मार्फत स्थानीय सरकार चुनिने छ । सोही सरकारले आफ्नो पालिकाको नीति निर्माण, योजना तथा बजेट लगायतको काम गर्नेछ । अहिले भने सरकारले निजामती कर्मचारीबाट कार्यकारी अधिकृत तोक्ने काम गरिरहेको छ ।