
रामधन राई/खोटाङ,
माघ–११, खोटाङमा विद्युत मर्मत गरी उज्यालो वाँड्ने क्रममा करेन्ट लागी दुवै हात र खुट्टा गुमाएका कर्मचारीको दयनीय अवस्था वनेको छ । नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले खटाएको कार्यक्षेत्रमा विद्युत मर्मत गर्ने क्रममा दुवै हात र खुट्टा गुमाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका हरिकाजी ढुङ्गाना र उनको परिवारको दयनीय अवस्था वनेको हो ।
हलेसी तुवाचुङ नगरपालिकास्थित अर्खौलेको बर्खेटारमा वि.सं. २०७० साल चैत १६ गते एघार केभी क्षमताको विद्युत लाईन मर्मत गर्ने क्रममा हरिकाजीलाई करेन्ट लागेको थियो । करेण्टवाट दुवै हात र खुट्टा गुमाएपछि आफ्नै श्रममा आश्रित वृद्द वुवाआमा र लालावालाको विचल्ली भएकोमा ३७ वर्षिय हरिकाजीलाई पिरलो छ । उपचारको क्रममा ऋण लिईएकोमा हाल ऋण फिर्ता माग्नेहरु दैनिकजसो घरमा आउने गरेकाले अर्को पिरलो थपिएको परिवारले जनाएका छन् ।
हरिकाजीको उपचारको लागि अहिलेसम्म ३६ लाख रुपैंयाँ भन्दा बढी खर्च भइसकेको आफन्त झमप्रसाद आचार्यले बताउनुभयो । उपचारमा लागेको रकममध्ये २६ लाख विद्युत प्राधिकरणले उपलब्ध गराए पनि बाँकी रकम ऋणमा लिईएको वताईएको छ । करेन्ट लागेर बेहोस अवस्थामा पुगेका हरिकाजीलाई तालिम सकाएर घर फर्कँदै गरेका नेपाली सेनाका जवानले उद्दार गरेका थिए । हरिकाजीलाई उद्दारपछि उपचारको लागि तत्कालै काठमाण्डौं लगिएको थियो । हरिकाजीलाई बचाउन काठमाडौंस्थित बि.एण्ड.बि. अस्पतालका वरिष्ठ प्लाष्टिक सर्जण्ट वसन्त माथेमासहितका चिकित्सकले दुवै हात र एउटा दाहिने खुट्टा काटेर फालेका थिए ।
दुर्घटनाको समयमा श्रीमतीको पेटमा भएको छोरा अहिले ४ वर्षको हुन लागेको छ । पहिलो सन्तान छोरी भएको हरिकाजीको श्रीमती सीताले दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिनुभएको थियो । हरिकाजीका बुबाआमा दुवै ८५ वर्ष नाँघेका छन् । सम्पत्तिको नाममा केही पाखो बारी मात्र भएको हरिकाजीको घरमा बुबाआमा, श्रीमती, बहिनी, एक छोरी र एक छोरा छन् । हरिकाजीका हातगोडा फालिएपछि अब उहाँका शरणमा रहेका सबै परिवार सहारा विहिन बनेका छन् ।
छोरा–छोरीको लालन–पालन तथा पठनपाठनको चिन्ता भएको हरिकाजीको घरमा चुल्हो बाल्न नै धौधौ परेको छिमेकी बताउँछन् ।
आफू यस्तो हालतमा पुगेपछि विद्युत प्राधिकरण, उर्जा मन्त्रालय लगायतमा बारम्बार हारगुहार गर्दा पनि आफूले पाउने तलब समेत नपाएको हरिकाजीले बताउनुभयो । उहाँले आफ्नो र आफ्नो परिवारको जीवन रक्षाका लागि सहयोगको याचना गर्नुभएको छ ।
हरिकाजीको परिवालाई सहयोग गर्न चाहनेका लागि राष्ट्रिय बाणिज्य बैङ्क ललितपुर शाखामा रहेको बचत हिसाब नम्बर ११२००२१९७३१० मा रकम जम्मा गर्न सकिने आचार्यले बताउनुभयो ।
घरका एक्ला छोरा हरिकाजीका लागि सहयोग जुटाउन उपचारकै क्रममा ललितपुरमा उक्त बैङ्क खाता खोलिएको हो ।