खोटाङ २२ चैत्र । मुन्दुम खोज तथा अनुसन्धानकर्ता भोगिराज चाम्लिङलाई पाँच लाख रुपैयाँको मुन्दुम स्कलरसिप अवार्ड प्रदान गरिएको छ । युकेबासी किरात राईहरुको पहलमा स्थापित मुन्दुम स्कलरसिप सञ्चालन समिति युकेद्वारा मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गरी विद्यावारिधी अध्येता चाम्लिङलाई अवार्ड प्रदान गरिएको हो ।
मुन्दुमको विषयमा अध्ययन अनुसन्धान गर्ने व्यक्तित्वहरुलाई प्रदान गरिने स्कलरसिप अवार्ड हस्तान्तरण कार्यक्रममा बोल्दै किरात राई समुदायका विद्धानहरुले मुन्दुमको अभिलेखिकरणमा लाग्नुभएको चाम्लिङलाई पुरस्कार प्रदान गरेर पुरस्कारका संस्थापकहरुले सराहनीय काम गरेको बताउनुभएको थियो । अहिलेसम्म व्यवस्थित रुपमा अभिलेखिकरण नगरिएको मुन्दुमलाई किराती राई समुदायको जीवन दर्शन मानिन्छ ।
पुरस्कार ग्रहण गर्दै चाम्लिङले अहिलेसम्म अलिखित रुपमा रहेको मुन्दुमको बारेमा आफूले गरिरहेको कामको प्रसंसा गर्दै प्रदान गरिएको पुरस्कारले आफूलाई थप जिम्मेवारी भएको भन्दै काम गर्न हौसला मिलेको बताउनुभयो । चाम्लिङ साहित्य लेखन, समालोचक, पत्रकारिता गर्दै बिगत केही बर्षदेखि निरन्तर किरात राईहरुको मुन्दुमको खोज अनुसन्धानमा लागिरहनुभएको छ ।
किरात समुदायका इतिहास, भाषा–साहित्य, संस्कार–संस्कृति सम्बन्धी खोज अनुसन्धान तथा अध्ययन गर्ने एक ब्यक्तिलाई हरेक तीन बर्षको अन्तरमा प्रदान गरिने पुरस्कार किरात राई चाम्लिङ खाम्बातिम, युके, कोयी(कोयु) सिउरिमेना ची छा छा, युके लगायतको संयोजनमा स्थापना भएको सञ्चालक समितिका संयोजक ईश्वर चाम्लिङले बताउनुभएको छ ।
मुन्दुम स्कलरसिपको पहिलो अवार्ड नै चाम्लिङले प्राप्त गरेको सञ्चालक समितिले जनाएको छ । किरात राई यायोक्खाको कार्यबाहक अध्यक्ष दिबश राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा किरात राई प्राज्ञिक मञ्चका अध्यक्ष जय राईलगायतका बुद्घिजीबि, समाजसेवी, लेखक, साहित्यकार, साँस्कृतिक अभियन्ता तथा युकेबाट आएका आयोजकका पदाधिकारी टोलीको उपस्थिती थियो । चाम्लिङलाई किराती संस्कार अनुसार फेटा गुथेर एक जोर वाबुसहित अवार्ड बापतको रकम प्रदान गरिएको हो ।