खोटाङ, ६ जेठ । धावनमार्गमाथिबाट बगेको भलपानीले खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा परेको छ । गत जेठ १ गते दिउसो परेको पानीले ढल थुनिएपछि धावनमार्गमाथिबाट बगेको भलपानीले कटान गर्दा सदरमुकाम दिक्तेल नजिक रहेको विमानस्थल पहिरोको जोखिममा परेको हो ।
धावनमार्गमुनीबाट बनाइएको ढल थुनिएपछि धावनमार्ग हुँदै बगेको भलबाढीले विमानस्थलको दक्षिणी भाग भत्किएको स्थानीय राजेन्द्र राईले बताउनुभयो । “ढल थुनिएपछि धावनमार्गमाथिबाटै बगेको भलपानीले माटो कटान गरेपछि विमानस्थलको दक्षिणपट्टी पहिरो गएको छ ।” उहाँले भन्नुभयो, “समयमै सम्बन्धित निकायले ध्यान नदिने हो भने, उडान नै अवरुद्ध हुनेगरी ठूलो पहिरो जाने खतरा छ ।”
भलपानीका कारण छेउबाट सुरु भएको पहिरो मालोपत्रे गरिएको धावनमार्गदेखि करिब दुई÷तीन मीटर नजिक पुगीसकेको स्थानीयले बताएका छन् । तत्काल माटो हटाएर भलपानीलाई ढलमार्फत निकासा गर्ने व्यवस्था नगरिएमा विमानस्थल नै पहिरोको जोखिममा पर्ने देखिएको छ ।
ढल थुनिएपछि अहिले विमानस्थलमुनीबाट निकासा हुनुपर्ने भलपानी सिधै धावनमार्ग हुँदै बाहिर जाने गरेको नेपाल एयर लायन्सका स्टेशन मेनेजर यादवसेन राईले बताउनुभयोे । “बाढीले पु¥याएको क्षतिका बारेमा सम्बन्धित निकायमा जानकारी गराइ सकेका छौं ।” उहाँले भन्नुभयो, “तत्काल रोकथाम नगरिएको खण्डमा लामो समयसम्म उडान अवरुद्ध हुने सम्भावना छ ।”
भलपानी थुनिएर सुरु भएको पहिरो करिब ५० मीटर फराकिलो रहेको छ । विमानस्थल निर्माणका क्रममा माथिल्लो भाग कटान गरेर फालिएको माटोमाथि जाली भरिएका कारण पहिरो गएको स्थानीयले बताएका छन् ।
विभिन्न दातृ निकायको आर्थिक सहयोगमा उपभोक्ताले निर्माण गरेको विमानस्थल गुणस्तरहीन रहेको यसअघि नै गुनासो आएको थियो । दुई वर्षअघि मात्र कालोपत्रे गरिएको विमानस्थल पहिरोको जोखिममा परेपछि जिल्लावासी चिन्तित बनेका छन् ।