खोटाङ  २७ जेठ । नेपाली कांग्रेसले खोटाङले १० वटै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।  कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत टुंगो लगाउन नसकेको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय समितिले शनिबार लगाएको हो । 
आगामी असार १४ गते तोकिएको स्थानीय तहको निर्वाचनका लागि कांग्रेसले रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा राजनसेर राई र उपमेयरमा कान्ता बस्नेत, हलेसी तुवाचुङ नगरपालिकाको मेयरमा ईवन राई र उपमेयरमा बिमला राईलाई उम्मेदवार बनाएको छ ।
यस्तै, लामीडाँडा गाउँपालिकाको प्रमुखमा जनक कार्की र उपप्रमुखमा शोभा पाण्डे, साकेला गाउँपालिका प्रमुखमा ईच्छुराम राना र उपप्रमुखमा सरिता खड्का, दिप्रुङ गाउँपालिका प्रमुखमा भूपेन्द्र राई र उपप्रमुखमा सपना राई, जन्तेढुंगा गाउँपालिकाको प्रमुखमा खेमबहादुर खड्का र उपप्रमुखमा अनिता राईलाई उठाउने निर्णय भएको कांग्रेसले जनाएको छ । 
यस्तै, केपीलासगढी गाउँपालिकाको प्रमुखमा समिर राई र उपप्रमुखमा गोपी निरौला, बराहपोखरी गाउँपालिकाको प्रमुखमा शालिकराम बञ्जरा र उपप्रमुखमा पुष्पलक्ष्मी श्रेष्ठलाई उठाउने निर्णय भएको छ ।
खोटेहाङ गाउँपालिका प्रमुखमा प्रेमकुमार राई र उपप्रमुखमा उषाकला राई, ऐसेलुखर्क गाउँपालिका प्रमुखमा बिश्वनाथ निरौला र उपप्रमुखमा शान्ति राईलाई उठाउने निर्णय यसअघि नै भइसकेको छ । 
खोटेहाङ र ऐसेलुखर्क गाउँपालिकाको उम्मेदवार भने जिल्लामै सर्वसम्मत टुंग्याइएको थियो । एमाले र माओबादी केन्द्र लगायत दलले भने यसअघि नै जिल्लामा उम्मेदवारको टुंगो लगाईसकेका छन् ।