खोटाङ, ३० जेठ । दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ भने, अन्य चार जना गम्भीर घाइते भएका छन् ।
बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुवाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब नौं बजेतिर दुर्घटना हुँदा रुपाकोट मभुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।
मध्यपाहाडी यातायात व्यवसायी सङ्घद्धारा सञ्चालित बस अनियन्त्रित भइ भित्तामा ठोकिएर दुर्घटना हुँदा रुपाकोट नगरपालिका–५ लफ्याङका ३० वर्षीया अनु राई, ३२ वर्षीया मनकला राई, १४ महिनाको नयन राई र २१ महिनाको समनिया राई गम्भीर घाइते भएका छन् । उनीहरुको थप उपचारका लागि छिमेकी जिल्ला उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो ।
बसमा सवार अन्य यात्रुलाई इलाका प्रहरी चौकी हलेसीबाट खटिएका प्रहरी र स्थानीयवासीले राती नै उद्दार गरी हलेसी तुवाचुङ नगरपालिकास्थित दुर्छिम स्वास्थ्य चौकी पु¥याएको छ । उनीहरुको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
राति पानी परिरहेको समयमा बसलाई घुम्तीमा मोड्नेक्रममा भित्तामा ठोकिएर अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटना लगत्तै बस चालक आकाश मगर फरार रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, मृत शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको स्थानीयले बताएका छन् । दुर्घटनास्थल जयरामघाट भन्दा करिब तीन किलोमिटर माथि पर्छ ।