रामधन राई/खोटाङ, १८ असार । तीन दलबीच भएको तीब्र प्रतिस्पर्धाका बीच नेकपा एमालेकी उम्मेद्वार बिणादेबी राईले ५ हजार ३ सय ६७ मत प्राप्त गर्दै रुपाकोट मझुवागढी नगरपालिकाको उप मेयर पदमा बिजयी हुनुभएको छ । स्थानीय तहको निर्बाचनमा ४ हजार ६ सय २७ मत ल्याएका उप मेयरका प्रत्यासी माओबादी केन्द्रका होमकाजी आचार्य( बिनोद) लाई ७ सय ४० मत अन्तरले हराउँदै राई बिजयी बन्नुभएको हो ।
उपमेयर पदमा नेपाली कांग्रेसका कुन्ता केसीले पनि ४ हजार १ सय ६८ मत ल्याउँदै प्रतिस्पर्धी बन्नुभएको थियो । बिद्यालय तहदेखि नै अनेरास्वबियुका जिल्ला सदस्य हुँदै राजनीतिमा होमिएकी राई एमाले निकट रहेर प्रेस चौतारीको संस्थापक सदस्य, जनसाँस्कृतिक मञ्च, खोटाङ–काठमाण्डौं सम्पर्क मञ्च हुँदै सगरमाथा अञ्चल सम्पर्क समिति सचिवालय सदस्यसम्म निरन्तर राजनीतिमै सक्रिय रहनुभएको छ । समाजशास्त्रबाट बी.ए.सम्मको अध्ययन पुरा गरेकी बुइपाकी ३४ बर्षिया बिणादेबी राजनीतिमै क्रियाशील हुनुहुन्छ ।
महिला अधिकार तथा सशक्तीकरणको पक्षमा प्रभावकारी भूमिका खेल्ने नबनिर्बाचित उपमेयर राईको भनाई छ ।