खोटाङ, २१ साउन । जिल्लाको प्रमुख मार्ग जयरामघाटस्थित दूधकोसी नदीको झोलुङ्गे पुल जीर्ण भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता सृजना भएको छ । पुलमा बिच्छ्याइएको स्टीलट्रष्ट फुस्किनुका साथै पुल अड्याउन टाँगिएको लठ्ठा लत्रिएर जीर्ण बनेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता सृजना भएको हो ।
खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटमा कोसी पार गर्ने अर्को विकल्प नभएपछि सोही जीर्ण झोलुङ्गे पुलमार्फत जोखिम मोलेर हजारौं यात्रु जावतजावत गर्ने गरेका छन् । यात्रुको सधै चाप रहने जयरामघाटको जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुल यसअघि वर्षेणी मर्मत गर्ने गरिएको थियो ।
जीर्ण पुलमा बढेको यात्रुको चापलाई सहज बनाउन प्रहरीसमेत परिचालन गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राईले बताउनुभयो । “बोलबमका कारण साउन महिनामा यात्रुको चाप अत्यधिक बढेको छ ।” उहाँले भन्नुभयो, “सहज रुपमा आवतजावत गर्न सकोस भनेर प्रहरी परिचालन गरिएको हो ।”
जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी सोही पुल भएर आउनुपर्ने हुन्छ । हिन्दू, बौद्ध र किरात धर्मालम्बीको संगमस्थल हलेसी आउने दर्शनार्थी तथा भक्तजनको संख्या पछिल्लो समय अत्यधिक बढेपछि जयराम पुलमा झनै समस्या भएको हो ।
झोलुङ्गे पुलमार्फत यात्रुसँगै दैनिक उपभोग्यवस्तु समेत तार्नुपर्ने हुँदा ठूलो समस्या सृजना भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “करिब छ महिनाका लागि जिल्लामा भरियामार्फत झोलुङ्गे पुलबाटै सामान तार्नुपर्ने हुन्छ ।” उहाँले भन्नुभयो, “जीर्ण पुलबाट सामान तार्दा कुनै पनि बेला ठूलो दुर्घटना हुने सम्भावना छ । यसप्रति समयमै सचेत हुनुपर्ने अवस्था छ ।”
जीर्ण पुलमा यात्रुको चाप बढेपछि सम्भावित दुर्घटना न्यूनिकरण गर्न पालो प्रक्रिया अपनाइएको छ । मोटरसाईकल लिएर हलेसी आउने भक्तजनको संख्या बढी भएपछि घण्टौंसम्म लाम बस्नुपर्ने बाध्यता छ ।
जीर्ण पुल मर्मतमा अहिलेसम्म कसैको ध्यान नगएको जिल्लावासीको आरोप छ । दुई जिल्ला जोड्ने झोलुङ्गे पुल गत वर्ष खोटाङको तर्फबाट मर्मत गरिएको थियो ।
वर्षैपिच्छे पालैपालो मर्मत गर्ने गरिएको झोलुङ्गे पुल मर्मत गर्ने पालो यस वर्ष ओखलढुङ्गाको थियो । जीर्ण पुल मर्मतका लागि ओखलढुङ्गालाई पटक–पटक अनुरोध गर्दापनि चासो नदिएको स्रोतको दाबी छ ।
जयरामघाटमा निर्माणाधीन पक्की पुल ठेकेदार कम्पनीको लापरबाहीले समयमा सम्पन्न नहुँदा जिल्लालाई ठूलो समस्या हुने गरेको छ । नेपालकै नमुना मानिएको जयरामघाटको निर्माणाधीन पक्की पुल नौं वर्षमा पनि सम्पन्न भएको छैन ।
निर्माणाधीन पक्की पुल आगामी दशै अगाडि सम्पन्न गर्ने तयारीमा रहेको आयोजना प्रमुख इन्जिनियर उद्धव रानामगरले बताउनुभयो । “साउन महिनाभित्र ढलानको काम सम्पन्न गर्ने तयारीमा लागी परेका छौं ।” उहाँले भन्नुभयो, “ढलान सकिएपछि करिब महिना दिन क्युरिङ गर्न समय लाग्छ । क्युरिङ अवधी सकिनासाथ सञ्चालन हुन्छ ।”
पक्की पुल नहुँदा जयरामघाटमा हिउँदको समयमा अस्थायी बेलिब्रिज जडान गर्ने गरिएको छ । करिब छ महिना सञ्चालन हुने बेलिब्रिज जडानमा वर्षेणी ६० लाख बढी राज्यकोषको रकम खर्च हुने गरेको छ ।