रामधन राई/खोटाङ, साउन–२४ । जंगलबाट आउने बाँदरले उखपात मच्याउने गरेपछि खोटाङको हलेसी तुवाचुङ नगरबासी हैरान भएका छन् । जंगल नजिक रहेको खेतबारीदेखि घर–घुर्यानसम्मै आएर बाँदरले अन्नबाली तथा फलफुल खानका साथै नष्ट गरिदिने गरेका कारण हैरानी ब्यहोर्नु परेको हलेसी तुवाचुङ नगरपालिका ५ बडहरेका किसानहरुले जनाएका छन् ।
हाल मकै पाकेको समयमा दैनिक एक जना वा सो भन्दा बढी बाँदर गोठालो जानै पर्ने बाध्यताले बेफुर्सदी भई अन्य काममा समय दिन नसकिएको स्थानीयले जनाएका छन् । बाँदर धपाउन आलोपालो गरी खेतबारीमा गोठालै बस्दा पनि पत्तै नपाई बाँदरले बाली सखाप पार्ने गरेको नगरबासी किसान जीबनाथ दाहालले बताउनुभयो ।
केही बर्षदेखि अत्याधिक मात्रामा देखा परेको बाँदरले अन्नबाली सखाप पार्न थालेको कारण जंगल नजिकका खेतियोग्य जमिनहरु यसअघि देखि नै बाँझो रहेका छन् । बाँदर धपाउन दैनिक गोठालो बसेर पनि साध्य नभए पछि मकै लागयातका अन्नबाली अत्याधिक मात्रामा फल्ने खेतियोग्य जग्गा भए पनि बाँझै राख्न बाध्य बन्नुपरेको सोही नगरपालिका ५ निबासी जीबनाथ दाहालको भनाई छ । दाहालका अनुसार करिब ८० घरधुरी रहेको उक्त टोलका प्राय सबैले आधा भन्दा बढी जग्गा बाँझो राखेका छन् ।
जंगल नजिकको जग्गा बाँझिएपछि बाँदर घरघु¥यानसम्मै आएर उखपात मच्याउने गरेकोे बडहरेकी गंगादेबी दाहालले सुनाउनुभयो । गंगादेबीका अनुसार बाँदरले घरभित्रै पसेर समेत अन्नबाली खाईदिने तथा बोकेर लगिदिने गरेका कारण एक किसिमको आतंक चलेको छ ।
बाँदर गोठालो बस्नु पर्ने बाध्यताले कतिपय बिद्यार्थी नियमित बिद्यालय जानबाट समेत बञ्चित बनेको अभिभाबक बताउँछन् ।
दिनमा बाँदरले बाँकी राखेको अन्नबाली तथा फलफुल रातमा मृग र दुम्सीले सकिदिने गरेको किसानहरु जनाउँछन् । जिल्लाका अधिकांश स्थानका किसानहरुलाई जंगली जनावारले दुःख दिँदै आएका छन् । जंगली जनावारका कारण अन्नबाली जोगाउन नसक्दा बसाईं सर्नुपर्ने अवस्था समेत आएको जिल्लाबासीको गुनासो छ । कतिपय स्थानबाट बाँदर नियन्त्रणको लागि प्रशासनमा गुहार माग्न समेत पुग्ने गरेका छन् ।