काठमाडौँ, ९ भदौ । नेपालमा ठूला पूर्वाधार आयोजनामा लगानी गर्न चीनले चासो व्यक्त गरेको छ ।

नेपाल भ्रमणमा रहेका चीनका भौतिक पूर्वाधारमन्त्री युआन सुहोङले आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरसँग भौतिक पूर्वाधारको आवश्यकता र त्यसमा चीनले गर्न सक्ने सहयोगका विषयमा छलफल गर्नुभएको हो । चिनियाँ मन्त्री सुहोङसहितको चिनियाँ प्रतिनिधिमण्डलले सिंहदरबारमा मन्त्री बलायरसहित सरोकारवाला मन्त्रालयका उच्च अधिकारीसँग चिनियाँ लगानी भित्र्याउनेबारे छलफल गरेको थियो । बैठकमा मन्त्री बलायरले चीनले नेपाललाई प्राथमिकतामा राखेर लगानी गर्न सक्ने भौतिक पूर्वाधारका परियोजनाबारे जानकारी गराउनुभएको थियो ।

उहाँले काठमाडौँ–स्याफ्रुबेँसी, सामाखुसी–टोखा–छहरे ३४ किमी सुरुङ मार्गसहितको सडक निर्माण, अरनिको राजमार्ग दुई लेनको बनाउने तथा पोखरा–बागलुङ ७३ किमी सडकको स्तरोन्नति गरी दुई लेन बनाउने प्रक्रिया अघि बढेको जानकारी गराउनुभएको थियो । त्यसैगरी अरनिको राजमार्गको स्तरोन्नति गर्ने, स्याफ्रुबेँेसी–रसुवागढी १६ किमी सडक दुई लेन बनाउने, भूकम्पबाट अवरुद्ध तातोपानी नाखा खुलाउने, सिगात्से–रसुवागढी– काठमाडौँ, काठमाडौँ–पोखरा र मेची महाकाली रेलले सञ्जाल विस्तारबारे लगानी गर्न मन्त्री बलायरले चिनियाँ पक्षसँग आग्रह गर्नुभएको थियो । उपयुक्त आयोजनामा चिनियाँ पक्ष लगानी गर्न सकारात्मक भएको छ ।

चिनियाँ मन्त्री युआनले हालसम्म चीनले नेपालमा जे–जति लगानी गरिरहेको छ, त्यो सानो आकारको भएको र आगामी लगानी रेल्वे सञ्जाल, ठूला राजमार्गजस्ता पूर्वाधारयुक्त आयोजनामा ठूलो लगानी गर्ने बताउनुभयो । उहाँले चीन नेपाललाई सहयोग गर्न एकदमै तत्पर रहेको र अब ठूला आयोजनामा लगानी गर्न नेपाल सरकारसँग ठोस प्रस्ताव माग्नुभएको थियो । चिनियाँ पक्षले पूर्वाधार विकासमा लगानी, लगानी सुरक्षितसम्बन्धी कानूनी अवस्थाबारे जानकारी लिनाका साथै विदेशी लगानीमा भइरहेका निर्माण पूर्वाधारको सुपरिवेक्षण र अनुगमनसम्बन्धी कानून बुझ्न नेपाल आएको मन्त्रालयले जनाएको छ ।

बैठकको सहजीकरण गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल तथा अर्थ, कानून, परराष्ट्र मन्त्रालय तथा लगानी बोर्डका सम्बन्धित शाखाका प्रमुखले नेपालको कानून, आर्थिक लगानीको सम्भावना, कर प्रणाली, कानुनी अवस्था र लगानीको अवसरबारे चिनियाँ पक्षलाई जानकारी गराउनुभएको थियो ।

गभनर्र डा नेपालले नेपालमा वैदेशिक लगानी भित्र्याउन कानूनी सरलता रहेकाले जोसुकैले लगानी गर्नसक्ने बताउनुभयो । बैठकमा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ, नेपालका लागि चिनियाँ राजदूत यु होङसहित मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । नेपाल सरकारको निमन्त्रणामा पाँच सदस्यीय चिनियाँ प्रमण्डल औपचारिक भ्रमणका लागि आजै नेपाल आएको हो । रासस