सम्पत्ती कमाउने र परिवारलाई सुख शयलकासाथ पाल्ने सपनामा साउदीअरब पुगेका दलबहादुर राई बाकसमा मृत ल्याइपु¥याइँदा सिंगो गाउँ शोकमा डुबेको हो। सुतेकै ठाउँमा साउन २८ गते मृत फेलापरेका राईको शव मंगलबार गाउँमा ल्याएर बाहिङ राई संस्कार अनुशार दाहसंस्कार गरिएको छ ।
झोलाभरी सम्पत्ती ल्याउने सपना बोकेर विदेसिएका दलबहादुर बाकसमा मृत आइपुग्दा परिवार र आफन्त शोकमा डुवेको स्थानीय खेमराज देउसालीले बताए। दलबहादुरको शव सोमबार राती ८ बजे नेपाल ल्याइएको हो। केही वर्षअघि साउदी पुगेका राई ६ महिनाअघि छुट्टीमा आएर पुःन साउदी फर्किएका थिए । दिउँसो सकुशल ड्यूटीमा गएर साँझ फर्किएपछि सुतेका राई ओछ्यानमै मृत फेला परेको आफन्तको भनाई छ। उनका एक छोरा र एक नावालिका छोरी छन्। दलबहादुरको मृत्यु भएको पाँच दिनपछि छोरी जन्मिएकी हुन्।
रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल अस्पतालचोकका बालकृष्ण बस्नेतको शव बाकसमा ल्याइएको दुई हप्तापछि दलबहादुरको शव पनि बाकसमा घर आइपुगेको हो। संयोगवस बालकृष्णको शव घर ल्याइएकै दिन दलबहादुरको मृत्यु भएको थियो। ग्याँस प्लान्टमा काम गर्नेक्रममा ग्याँसको बिकार डिस्पोज गर्नेक्रममा लिक भएर निस्किएको गन्धको अशरले गत असार ३ गते ज्यान गुमाएका बालकृष्णको शव साउन २८ गते घर ल्याइएको थियो। मृतक बस्नेतका ८४ वर्षका आमा रुजुमायाँ बस्नेत, श्रीमती र एक छोरा छन् । नागरिकन्यूजबाट साभार