खोटाङ, १९ भदौ । किराती राष्ट्रिय मुक्ती मोर्चाले एक नम्बर प्रदेशको मुख्यमन्त्री गोपाल किरातीलाई बनाउने निर्णय गरेको छ ।
नेकपा (माओवादी केन्द्र) को भातृ संगठन किराती राष्ट्रिय मुक्ती मोर्चा (किरामु) को सोमबार काठमाडौंमा सम्पन्न दोस्रो बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि, विराटनगरमा बसेको नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले प्रदेश नम्बर १ को मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
यता, किरामु मोर्चाको पार्टी कार्यालयमा सम्पन्न बैठकले किरातीलाई कुनै पनि हालतमा प्रदेश नम्बर एकको मुख्यमन्त्री बनाउन अभियान सञ्चालन गर्ने निर्णय गरेको महासचिव अर्जुन जम्नेलीले जानकारी दिनुभयो । “किरातीलाई मुख्यमन्त्री बनाउन एकवुथ एक फोर्स, एक एकवुथ एक किरात मोर्चा तयार गरेका छौं ।” उहाँले भन्नुभयो, “अभियानका लागि प्रदेश, नगर, वडा, गाउँ र टोलसम्म कमिटी निर्माण गर्ने तयारीमा छौं ।”
मोर्चाको प्रदेश नम्बर ३ को भेलासमेत रहेको बैठकमा अध्यक्ष राजन किराती (वासु), उपाध्यक्ष मानबहादुर राई, महासचिव जम्नेली लगायतले आगामी चुनावलाई लक्षित गरेर निर्देशनात्मक प्रशिक्षण समेत दिनुभएको जनाइएको छ । पूर्व सँस्कृति तथा पर्यटनमन्त्री भइसक्नुभएका किराती हाल पार्टीको सचिवालय सदस्य एवम् पार्टीको एक नम्बर प्रदेशको संयोजक हुनुहुन्छ ।