केदार मगर-खोटाङ, २८ भदौ । बराहपोखरी गाउँपालिका–१ की १८ वर्षीया अनुजा मगर दिक्तेलमा आएर सिलाइ-कटाइ तालिम लिइरहनुभएको छ । सुरुमा मेसिन चलाउन नजान्ने मगरले अहिले २२ प्रकारका पोशाक सिलाउन सक्नुहुन्छ ।
जन्तेढुङ्गा गाउँपालिका–५ की २० वर्षीया सरिता श्रेष्ठ पनि सोही तालिममा सहभागी हुनुहुन्छ । दुई दिन पैदल हिँडेर दिक्तेल आउनुभएकी श्रेष्ठले पनि कुर्ता, सुरुवाल, सर्ट, पाइन्ट, भोटो लगायतका पोशाक तयार गर्न सक्ने हुनुभएको छ । 
गाउँमा सामान्य सीप सिक्नुभएकी हलेसी तुवाचुङ नगरपालिका–५ की २२ वर्षीया नमिता राई सिलाइ÷कटाइ पेशालाई व्यवसायिक रुप दिन दिक्तेलमा सञ्चालित तालिममा सहभागी हुनुहुन्छ । जनसेवा समाज नेपाल जालपाले दिक्तेलमा सञ्चालन गरेको ५४ दिने सिलाइ÷कटाइ तालिममा जिल्लाका २२ जना युवती सहभागी छन् ।
सबल परियोजनाको आर्थिक सहयोगमा सञ्चालित तालिममा सहभागी अधिकांश युवती २२ वर्ष ननाघेकी हुनुहुन्छ । एसएलसीदेखि कक्षा १२ सम्मको अध्ययन पूरा गरेका ती युवतीहरु तालिमपछि आफ्नो गाउँ फर्किएर पेशालाई व्यवसायिक बनाउने बताउँछन् ।
गाउँमा आयआर्जनको अन्य कुनै माध्यम नभएकाले आफूहरु व्यवसायिक सीप सिक्न लागी परेको सहभागीहरुले बताएका छन् । “म कक्षा १२ मा अध्ययनरत विद्यार्थी पनि हुँ ।” तालिममा सहभागी १८ वर्षीया अनुजाले भन्नुभयो, “पढाइ खर्च जुटाउँनकै लागि भएपनि व्यवसायिक सिलाइ÷कटाइ व्यवसाय सञ्चालन गर्ने तयारीमा छु ।”
तालिममा सहभागी सबैले सिकेको सीपलाई व्यवहारमा लागू गर्नेमा आफू विश्वस्त रहेको मुख्य प्रशिक्षक मञ्जु चौधरीले बताउनुभयो । जिल्लाको दुर्गम क्षेत्रका युवायुवतीलाई आफ्नै गाउँमा व्यवसायिक बनाउने उद्देश्यका साथ समाजले सिलाइ÷कटाइका साथै विभिन्न सीप मूलक तालिम दिइरहेको छ ।
व्यवसायमा लागेका तथा औपचारिक सीप एवम् सहयोग नपाएका युवायुवतीलाई तालिम दिएर औजार तथा सामग्री प्रदान गर्ने गरिएको समाजका अध्यक्ष दानबहादुर राईले बताउनुभयो । “पछिल्लो समय युवा पुस्ता पनि व्यवसायिक बन्ने प्रयत्नमा रहेका छन् ।” उहाँले भन्नुभयो, “उनीहरुको  व्यवसायमा सघाउ पु¥याउने उद्देश्यले सम्बन्धित विषयको तालिम तथा औजार प्रदान गर्ने गरिएको हो ।”
समाजले सिलाइ÷कटाइ, होटल व्यवसायी र  कृषि पेशामा लागेका युवायुवतीलाई सात लाख ५० हजार बराबरको औजार तथा सामग्री समेत प्रदान गरिसकेको छ । विभिन्न पेशा व्यवसायमा लागेका व्यवसायीलाई सम्बन्धित विषयमा तालिम प्राप्त प्रशिक्षकद्धारा तालिम दिएर औजार तथा साम्रगी प्रदान गर्ने गरिएको हो ।