
खोटाङ भदौ–२८, खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको पञ्चकन्या आभारभुत विद्यालय र जनकल्याण आधारभुत विद्यालयको भवन पुनःमर्मत नहुँदा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता छ ।
भूकम्प गएको दुई बर्ष बढी बितिसक्दा पनि कुनै निकायबाट सहयोग नपाउँदा जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपरेको विद्यालय परिवारले जनाएको छ ।
भूकम्पले पञ्चकन्या आधारभुत विद्यालय खाम्लाको तीनकोठे भवनको पूर्वपट्टीको गाह्रो चर्किएर दुई ठाउँ धाँजा छुटेको छ । भूकम्पले
चर्काएको विद्यालय भवनको गाह्रोबाट ढुङ्गा-माटो निस्किएर भ्वाङ भएपछि भित्रबाट बाहिर देखिने प्वाल बनेको छ । कक्षा १ देखि ३ सम्मका २४ जना विद्यार्थीलाई सोही जिर्ण भवनमा पठनपाठन गराउनुपर्ने बाध्यता रहेकोे प्रधानाध्यापक गणेश राईले जानकारी दिनुभयो ।
वर्षादको भलबाढीसम्म पस्ने जनकल्याण आधारभुत विद्यालय हुर्लुङको भवनको हालत पनि उस्तै छ । भूकम्पले ठाउँठाउँमा चिराचिरा बनाएको तीनकोठे भवनमा १ देखी ३ सम्मका २३ जना विद्यार्थीलाई आफूसहित जोखिम मोलेर पठनपाठन गराउनुपरेको प्रधानाध्यापक कल्पना भुजेलले बताउनुभयो ।