सन्तोषकुमार राई , खोटाङ
‘श्रीमानले आउँछु भनेको ८ वर्ष भैसक्यो, अझै आउनु भएन, लौन खोजेर ल्याइदिनु पर्यो ।’ खोटाङको लामिडाँडा गाउँपालिका १ कुभिण्डेकी मञ्जु सार्कीले भन्नुभयो । मलेसियाबाट घर फर्केलान् भनेका श्रीमानले फोन गर्न छाडेपछि मञ्जुलाई ऋणमाथी पीर थपिएको छ । ८ वर्ष भयो फर्किएनन् । छ महिना देखि त झनै फोन समेत गर्नछाडेका छन् ।
पहिले फोनमा कुराहुँदा कालुमान भन्नुहुन्थ्यो, ‘कमाई भएन अब घर फकिन्छु ।’ श्रीमान घर फर्किने आशमै बित्यो मन्जुको साढेसात वर्ष । तर ६ महिना देखि न फोन छ न त खबर नै, कालुमान सम्पर्क्बिहिन हुनुभएको छ ।
दिक्तेलमा रहेको सुरक्षित आप्रवासन परियोजना सुचना केन्द्रले वैदेशिक रोजगारीका क्रममा अप्ठेरोमा परेकालाई सहयोग गर्ने सुनेर मञ्जु श्रीमान खोजिदिन निवेदन दिन आउनु भएको थियो । उहाँसँगै आएका थिए १३ वर्षका छोरा ज्ञानेन्द्र पनि । ४ छोरी र १ छोरा पनि कालुमानको पर्खाईमा छन् ।
८ वर्ष मलेसियामा बिताएका कालुमानले परिवारमा खर्च पठाउनु भएको छैन नत जाँदा लगेको ऋण नै तिर्नु भएको छ । कहिले कहिँ परिवारलाई दुई चार हजार खर्च पठाउन बाहेक कालुमानको कमाई घरमा आएको छैन । मञ्जुलाई याद भएअनुसार सबैभन्दा धेरै एक पटक ३० हजार रुपैयाँ पठाउनु भएको थियो । छोरी बिरामी भएपछि उपचारका लागि ।
यो परिवारको जग्गा जमीन थोरै छ । खानका लागि बनि गर्नैपर्छ । पहिले कालुमान घरमा हुँदापनि त्यसरिनै चल्थ्यो परिवारको गुजारा । तर कालुमान विदेश गएपछि सुध्रियला भन्ने आश थियो ।
३६ प्रतिशत ब्याजमा लिएको ५५ हजार रुपैयाँ ऋणको ब्याज बढेको बढै छ । ऋणको बोझ त छनै त्यहीँमाथि थपिएको छ श्रीमानले फोन नगर्दाको पीडा । पहिले त फोन गर्दै थिए । कमाई भएन भन्थे तर ऋण तिर्न पैसा पठाउनु भनेर मञ्जुले ताकेता गर्न थालेपछि बालुमानको फोन पनि बन्द भयो ।
पहिले ६०११५१३०२४१९ र ६०११५१३०२४१९नम्बरबाट फोन गर्नुहुन्थ्यो कालुमान । त्यतिबेला त पैसा नपठाएपनि कुरा गर्न पाउँदा मञ्जुलाई केहि आँट थियो ।
मञ्जु भन्नुहुन्छ, ‘अब मलाई पैसा ल्याउनु परेन, फर्किनुस् यहिँ काम गरेर ऋण तिरौंला ।’
(उज्यालो अनलाईनबाट )