खोटाङ ३० भदौ,  करिब ४ घण्टा बढी बाढीले बगाएर बाँच्न सफल सानुमाया राईको सहयोगार्थ अमेरिकामा नेपाली कथानक चलचित्र यारीको बिशेष प्रदर्शनी हुँदैं छ । गएको साउन २७ गतेदेखि परेको अविरल बर्षाका कारण आएको बाढीसँगै करिब ४ घण्टा बगेर बाँँच्न सफल सुनसरी ईटहरीका पीडित सानुमाया राईको सहयोगार्थ शनिबार साँझ  अमेरिकाको न्युयोर्कमा ‘यारी’ को बिशेष प्रर्दशनी हुने भएको हो । 
पूर्वी पहाडी जिल्लाहरु खोटाङ, भोजपूर र संखुवासभाको सिमा क्षेत्रमा पर्ने रमणीय स्थानहरुमा छाँयाकन गरिएको नेपाली कथानक चलचित्र ‘यारी’ किराती मिथकमा आधारित रहेको निर्देशक युवराज राई (बीरबहादुर)ले जनाए । अमेरिकाका लागि गाउँघर फिल्म प्रोडक्सनका लिला राईले प्रदर्शनकिो बन्दोवस्त मिलाएको चलचित्र ‘यारी’मा किराती मौलिक रहनसहन, संस्कार–संस्कृति तथा त्यसैमा आधारित गहन कथाबस्तुका साथै ग्रामिण भेगका रमणीय दृश्यहरु देख्न पाईने निर्देशक राईको भनाई छ । किराती सभ्यतालाई आधुनिकताले गाँज्दै लैजाँदा कतिपय कुराहरु लोप हुने अवस्थमा पुगेको बेला यस्ता चलचित्र अमेरिका समेत प्रदर्शनी हुनुले नयाँ सन्देश समेत जान सक्ने बताइएको छ ।
तीन जिल्लाका आसपास तथा सिमा क्षेत्रमा पर्ने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्यटकीय स्थानहरु साल्पापोखरी, सिलीचोङ, दोभाने, मैयुङ लगायतका रमणीय स्थलहरुमा छायाङ्कन गरिएको चलचित्रमा युवराज राई (बीर बहादुर) को कथा, निर्देशन तथा छायाँकन रहेको छ ।  चलचित्र यारीमा श्याम राई, कल्याण राई, प्रवीण पुमा, दक्ष राई, ज्योति राई, निर्भिक राईले अभिनय गरेका छन् । यस्तै, विष्मीता राई, सञ्जु राई, जाइका राई, प्रवीण राई, जनक राई, वीरकुमार राई लगायत दर्जनौ कलकारहरुको जीवन्त अभिनय प्रस्तुत भएको निर्माण पक्षले जनाएको छ । सिलिचुङ फिल्मस प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता दक्षकुमार राई, कार्यकारी निर्माता उर्मिला राई र निर्माताहरु गणेश गिरी र प्रविण राई रहेका छन् ।
 ऐतिहासिक चलचित्र ‘यारी’को गर्बिलो पाटो गीतसंगीत पनि रहेको बताईएको छ । कबि तथा गीतकारद्वय भुपाल राई र चन्द्र रानोहँछाको शब्दमा चर्चित संगीतकार डक्टर किरात र पदम थुलुङ राईले संगीत भरेका छन् । गायनतर्फ मेलिना राई, रुपकुमार राई, निश्चल राई, सुनिता थेगिम र भिषण राई रहेका छन् । चलचित्रमा समाबेश ‘कहाँबाट टिपि ल्यायौ..’ बोलको गीत यसअघि नै युट्युबमा चर्चित बनिसकेका छन् ।