केदार मगर,खोटाङ 
भदौ–३१, खोटाङको धार्मिक, पर्यटकीय तथा ऐतिहासिक हलेसी महादेवस्थान रहेको हलेसी तुवाचुङ नगरपालिकाका लागि ४१ करोड बढीको बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । होटल हलेसी भिलेजमा शनिबार आयोजित प्रथम नगरसभाले उक्त नगरको लागि ४१ करोड २९ लाख ४८ हजार १ सय १० रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो ।
त्रिधार्मिक स्थलका रुपमा परिचित हलेसी नगरपालिकाका लागि वित्तीय समानीकरण निशर्त अनुदानतर्फ २३ करोड ३५ लाख ३९ हजार र नेपाल सरकारको सशर्त अनुदानतर्फ १५ करोड ३६ लाख ४० हजार बजेट नगरसभाले पारित गरेको कार्यकारी अधिकृत अनिल किरातीले जानकारी दिनुभयो । मेयर इवन राईद्वारा पेश भएको बजेटमा निशर्त अनुदानतर्फको ७५ प्रतिशत रकम अर्थात १७ करोड ५१ लाख ५४ हजार २ सय ५० रुपैयाँ, पुँजीगततर्फ तथा निशर्त तर्फको २५ प्रतिशत अर्थात ५ करोड ८३ लाख ८४ हजार ७५० रुपैयाँ बजेट चालुका लागि बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
पुँजीगततर्फको १७ करोड ५१ लाख ५४ हजार २५० मध्ये नगरयोजनाका लागि १० करोड २५ लाख ३५ हजार ८०, ११ वडाका लागि ५ करोड ६ लाख १३ हजार, समपुरक कोषका लागि एक करोड ५० लाख, विपद व्यवस्थापनतर्फ ३५ लाख ३ हजार ८५, कन्टिन्जेन्सी बजेटका लागि ३५ लाख ३ हजार ८५ रुपैयाँ विनियोजन गरिएको छ । यस्तै, सशर्त बजेटमध्ये शिक्षा शाखाका लागि १३ करोड ६३ लाख २ हजार, जनस्वास्थ्य सेवा शाखाका लागि एक करोड २४ लाख ५ हजार, आयुर्वेद स्वास्थ्य शाखाका लागि १८ लाख ५४ हजार, कृषि विभागतर्फ १६ लाख र पशुसेवा विभागतर्फ १४ लाख ७९ हजार रुपैयाँ आएको नगरपालिकाले जनाएको छ ।