रामधन राई,खोटाङ असोज–१, आफन्त, ईष्टमित्र–साथीभाई, नरनाता घरमा जो आउँछन् पृथी जिम्बा यथासम्भब हारमुनियमका पर्दाहरुमा आफ्ना औंलाहरु नचाउँदै गाउन थाल्छन् मन्त्रमुग्ध आवाजले । मीठो गला उसैमाथि रातदिन गीतसंगीतसँगै खेलिरहने जिम्बाले हारमुनियमको सुरसँगै गीत गाउन थालेपछि  जो कोही लोभिन्छन् र सुनिरहन्छन् बेपर्बाह । आखिर छ नै जिम्बाको जादु त्यस्तै । मानौं उनले गाएका प्रत्येक गीतहरु घरमा आउने पाहुनका स्वागत र सत्कारका लागि हो । 
बाल्यकालदेखि नै गीतसंगीत भनेपछि हुरुक्कै हुने जिम्बाको पेशा शिक्षण भए पनि लगानी भने गायन तथा संगीतमा छ । दिक्तेलबजारको बीचमा रहेको घरमा लाक्पा होटल एण्ड लज समेत सञ्चालन गरेका जिम्बा परिवार नै संगीत पारखी हुन् । गायक जिम्बा बिशेषगरी बिहान बेलुकी हारमुनियमसँग आमन्ने–सामुन्ने भएर गीत गाईरहँदा उनकी श्रीमति उमा स्वरले साथ दिन्छिन त छोरा लाक्पा कहिले मादलले त कहिले गितारले । छोरी सुुसाङ पनि त्यतै तानिन्छिन् । होटलमा आउने ग्राहकहरु दंग पर्छन् । 
  २०३१ असार २९ मा खोटाङको खिदिमा–८ मा जन्मेका पृथि जिम्बाले गाउँघरमा हुने साना–तिना कार्यक्रमहरुबाटै आफुलाई गायकमा स्थापित गरेको बताउँछन् । दिक्तेल बहुमुखी क्याम्पसमा अध्ययन गर्न थालेपछि बिभिन्न कार्यक्रमहरुमा गीत गाउँदा–गाउँदै गायकबाट परिचित हुन थालेको जिम्बाले पछिल्लो समय संगीत पनि गर्न थाले ।
 शहर नपसी, औपचारिक रुपमा संगीत नसिकी, गाउँठाउँमै गायक तथा संगीतकार बनेको पृथी जिम्बा स्वयमलाई पनि पत्तो छैन अरे की, कसरी गीत संगीतमा लत बस्यो भनेर । तब त जिल्लामा हुने हरेक सांगीतिक कार्यक्रमहरुमा पृथी जिम्बाको नाम र उपस्थिती हत्पत्ती छुट्दैन ।  
रेडियो नेपालबाट २०५२ सालमै स्वर परीक्षा उर्तीण गरी २०५६ सालमा ‘फुलबारी गीत सम्मेलन’ अन्तर्गत उत्कृष्ट १० मा पर्न सफल तामाङ भाषाको गीत गायक तथा संगीतकार जिम्बाको पहिलो रेकर्ड भएको गीत हो । लगत्तै २०५७ सालमा अधिराज्यब्यापी बालगीत प्रतियोगितामा पृथीले संगीतबद्घ गरेको गीतले तृतीय स्थान हासिल गरेका थिए । 
  आफुलाई गीतसंगीतमा लाग्ने प्रेरणा नै उ बेलाको रेडियो नेपालबाट मिलेको बताउने जिम्बाले हालसम्म तीन दर्जन बढी फुट्कर गीत रेकर्ड गराई सकेका छन् । वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानसँगको संगीत सहकार्यमा जिम्बाले हालै मात्र लोकआधुनिक गीति संग्रह ‘सुसाङ’ बजारमा ल्याएका छन् । यसअघि नै बजारमा आएका जिम्बाको  स्वरबद्घ ‘आन्दोलन चाहिन्छ,’, ‘नौंरंगी सपना’, ‘जिन्दगी पहाड हो’, ‘कमेजै मैलो’, ‘जिन्दगी मेरो बाँचिरहेछ ’ जस्ता गीत चर्चित बनि सकेका छन् । यस्तै जिम्बाको संगीतमा रहेको गायक शिब परियारले गाएको ‘जिउन जाने जिन्दगी’, दिपक लिम्बुले गाएका ‘ तालभित्र पौडिरहे’ बोलका गीतले आशातित् सफलता हात पारिसकेका छन् । 
‘रेडियो नेपालको एक छत्र राजका कारण गीत रेकर्ड गराउँन पाईंन’ 
  २०५२ सालमा स्वर परीक्षा उतीर्ण गरिसकेर गीत रेकर्ड गराउन चाहादा–चाहाँदै पनि नपाईएको तीतो महशुष छ गायक तथा संगीतकार जिम्बासँग । तत्कालिन अवस्थाको सञ्चार माध्यमहरुमा रेडियो नेपालको एक छत्र राजका कारण रेकर्डिङका लागि ‘डेट’ लिन नपाएकाले गीतसंगीतको क्षेत्रमा पछि पर्न बाध्य भएको जिम्बाको भनाई छ । जिम्बाका अनुसार सो अवस्थामा गीत रेकर्डका लागि ‘डेट’ लिन पहुँचवालाको हालीमुहाली हुने गर्दथ्यो । राजधानीदेखि खोटाङ दुरदराजमा रहेका कारण पनि सो बेला धेरै गीतसंगीतप्रेमीले चाहेर पनि गीत रेकर्ड गराउन सक्दैनथे । 
सहज तर गुणस्तरहीन !
पछिल्लो समय सञ्चारमाध्यम लगायत प्रबिधिको तीब्र बिकाससँगै गीतसंगीतकर्मी तथा गीतहरुको संख्यामा उल्लेख्य बृद्घि भए पनि कतिपय गीतसंगीत गुणस्तरहीन आउन थालेका छन् । गीतसंगीतको गहिराईमा अध्ययन नगरी पैसा र मिडिया पहुँचको आधारमा सांगीतिक क्षेत्रमा आफुलाई स्थापित गर्ने प्रबृतिको बिकास हुनु नेपाली संगीत जगतकै लागि घातक हुने जिम्बाको ठहर छ । 
नेपाली गीत संगीतलाई अन्र्तराष्ट्रिय स्तरमा बिकास गर्ने नाममा पाश्चात्य संगीतको नक्कल गर्नु पनि राम्रो नहुने गायक तथा संगीतकार पृथी जिम्बाको धारणा छ ।