खोटाङ असोज–३, स्थानीय शिक्षकलाई प्रधानाध्यापक बनाईनुपर्ने भन्दै रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माबिमा ताला लगाइएको छ । स्थानीय शिक्षकहरु नै योग्य हुँदाहुँदै बाहिरका शिक्षकलाई प्रअ बनाईएको भन्दै स्थानीय बिशाल श्रेष्ठ र डिल्लीप्रसाद श्रेष्ठले सोमबार बिहान विद्यालयमा ताला लगाएका हुन् ।
तत्कालीन प्रधानाध्यापक युद्धबहादुर राई अनिवार्य अवकास भएपछि विद्यालय व्यवस्थापन समितिले सोही बिद्यालयमा शिक्षण गर्दै आउनुभएका रुम नपा–२ सोल्माका देवान राईलाई सो पदमा नियुक्त गरेपछि असन्तुष्ट बनेका श्रेष्ठद्वयले विद्यालयमा ताला लगाएका हुन् । विद्यालय समयअघि नै तालाबन्दी गरेपछि विद्यालयमा अध्ययनरत ४१७ जना विद्यार्थीको बिचल्ली भएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार तामाङ लगायतले आफुहरुसँग प्रशस्त छलफल नगरी निमावि शिक्षक राईलाई नियुक्त गरेकाले तालाबन्दी गरिएको बन्दकर्ता डिल्लीप्रसाद श्रेष्ठको तर्क छ । “विव्यास अध्यक्षले छलफल तथा निर्णयको माईन्युट क्लोजिङ नगरीएकै अवस्थामा आफूखुसी प्रअ नियुक्त गरेकोले ताला लगाउनु परेको हो,” श्रेष्ठ भन्नुहुन्छ “स्थानीय शिक्षक नै प्रअ बनाईनुपर्छ भन्ने हाम्रो कुरा हो ।”
विद्यालयमा कार्यरत शिक्षकहरुमध्ये वरियताकै आधारमा प्रधानाध्यापक नियुक्त गरिएको विव्यास अध्यक्ष तामाङले बताउनुभयो । “तत्कालीन प्रअ अवकास भएपछि सहमतीका लागि हप्ता दिनको समय दिइएको थियो,” उहाँले भन्नुभयो, “प्रअका लागि चार जना आकांक्षीमध्ये सबैभन्दा पहिलो स्थानमा रहनुभएका देवान राईलाई विधिसम्बत रुपमा प्रअमा नियुक्त गरिएको हो ।”
असन्तुष्ट तथा ब्यवस्थापन पक्ष लगायत बिद्यालय प्रशासनलाई छलफलको लागि बुधबार जिल्ला शिक्षा कार्यालय बोलाईएको जिल्ला शिक्षा अधिकारी धनबहादुर श्रेष्ठले बताउनुभयो । “कुनै पनि बहानामा विद्यालय बन्द गर्न पाइदैन,” श्रेष्ठले भने, “तत्काल स्कुल खुलाउन प्रहरीलाई निर्देशन दिएको छु ।” शिक्षा कार्यालयको निर्देशनपछि विद्यालयको ताला खुलाइएको छ । विद्यालयमा ताला लगाउन नेतृत्व गरेका डिल्लीप्रसाद भने फरार बनेका छन् । विद्यालयमा प्रहरी आउँदै गरेको जानकारी पाएपछि डिल्लीप्रसाद फरार बनेका हुन् ।
तत्कालीन प्रधानाध्यापक राई गत भदौ १६ गतेबाट अनिवार्य रुपमा अवकास हुनुभएको थियो । प्रअको अनिवार्य अवकासपछि रिक्त पदमा विद्यालय व्यवस्थापन समितिले देवानलाई २० गते नियुक्त गरेको थियो ।