खोटाङ असोज–७, खोटाङ जिल्लामै पहिलो पटक दर्ता गरी सञ्चालनमा ल्याउने तयारी गरिएको साहित्यिक पत्रिका ‘टेम्के तुवाचुङ’ त्रैमासिकको शुभारम्भ गरिएको छ । डा.धनप्रसाद सुबेदी प्रधान सम्पादक तथा जिल्लामा सञ्चालित टेम्के तुवाचुङ प्रतिष्ठानको मातहतमा रहने गरी प्रतिष्ठानका अध्यक्ष भोगेन राई ‘एक्ले’ प्रकाशक रहेको पत्रिकाको पहिलो (साउन–असोज) अंक शनिबार बिमोचन गरिएको हो । 
राष्ट्रिय बाङमय कला प्रतिष्ठा नेपालका अध्यक्ष साहित्यकार बिष्णु ‘आभुषण’को प्रमुख आतिथ्यमा सदरमुकाम दिक्तेलबजारमा आयोजित शुभारम्भ कार्यक्रममा संस्था तथा पत्रिका सम्बद्घ ब्यक्ति–ब्यक्तित्वका साथै जिल्लाका साहित्य, कला, साहित्य र संगीत क्षेत्रसँग सम्बन्धित श्रष्टा सर्जकहरुको उपस्थिती थियो । सिर्जना तथा गीतसंगीत सुन्ने–सुनाउने समेत अवसर प्रदान गरिएका कार्यक्रमको बक्ताले पत्रिकाको गुणस्तरीयता र निरन्तरताको शुभेच्छा ब्यक्त गर्दै जिल्लामा यस्ता पत्रिकाको उपस्थिती अत्यन्त महत्वपुर्ण भएको भनाई राखे । कार्यक्रमका प्रमुख अतिथि आभुषणले “खर्चै नगरी सिद्घिसकेछन् मेरा शब्दहरु..” शीर्षकको कबितामार्फत साहित्यप्रतिको आफ्नो झुकाब दर्शाउँदै निरन्तर शब्दैहरुसँग खेलिरहने, रमाईरहने भाब दर्शाए ।  
पत्रिकाबारे टिप्पणी गर्न अनुरोध गरिएका साहित्यकार एम.सी. सुमितले पत्रिकामा अत्यन्त उत्कृष्ट रचनाहरु समाबेश भएको उल्लेख गर्दै कतिपय रचना अति लामो भएको जनाए । सुमितका अनुसार दायरा नबनाई अति लामो रचनाहरुलाई पनि समाबेश गर्दा अन्य सर्जकहरुको रचनाले अवसर नपाउने हुन्छ । टिप्पणीकार एम.सी.ले पत्रिकालाई थप गुणस्तरीय बनाउँदै निरन्तर टिकाउन अनि सबैको सिर्जनालाई समाबेश गर्न अपनाउन सकिने बिभिन्न उपायहरु समेत प्रकाशक तथा सम्पादक मण्डललाई सुझाए । साहित्यप्रति हाम्रो अनुराग कमी बताउँदै सुमितले अर्काको रचना पनि सुन्ने र पढ्ने बानी बसाल्नु पर्ने संकेत गरे ।  समीक्षालय हलमा सम्पन्न कार्यक्रममा साहित्यप्रति झुकाव राख्ने जिल्लास्थित कार्यालय प्रमुख, साहित्य क्षेत्रका स्थापित जिल्लाका ब्यक्तिहरु, अन्य साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत कला, संगीतप्रेमीहरुको उपस्थिती थियो । 
पुरस्कार कोष स्थापना गरी श्रष्टा सर्जकलाई पुरस्कृत लगायतका बिबिध गतिबिधि गर्दै आएका टेम्के तुवाचुङ प्रतिष्ठानको मातहतमा प्रकाशित पत्रिका दर्ताको अन्तिम प्रक्रियामा रहेको सम्पादक सीता थुलुङको भनाई छ । जिल्लामा अन्य दर्जनौं साहित्यिक पत्रिका सञ्चालन हुने र बन्द हुने क्रम निरन्तर रहे पनि यो पत्रिका निरन्तर प्रकाशनका लागि मेहनत गर्ने प्रकाशक तथा सम्पादक मण्डलको प्रतिबद्घता छ । जिल्लाको सहित्यिक पत्रिकामध्ये यो नै पहिलो दर्ता भएको पत्रिका बन्ने सम्पादक थुलुङ बताउँछिन् ।