खोटाङ ९ असोज

नेकपा माओवादी केन्द्र खोटाङले जिल्लाका उम्मेदवारहरुको सूची प्रदेश कमिटीलाई पठाएको छ ।
जिल्ला पार्टी सचिवालयको बैठकले उम्मेदवारका आकांक्षीहरुको नामावली प्रदेशलाई बुझाएको हो । 
प्रदेश कार्यदलको बैठक समेत आइतबारदेखि जारी छ । प्रदेश इन्चार्ज गोपाल किरातीले बैठकले उम्मेदवारहरुको टुंगो लगाउने जानकारी दिए । उनका अनुसार प्रदेश एकमा झण्डै हजारको संख्यामा उम्मेदवारहरुको सुचि आएको र त्यसमा छलफल गरेर घटाइनेछ ।
यता, खोटाङ जिल्ला पार्टीले प्रदेशमा सिफारिस गरेको उम्मेदवारहरुमा केन्द्र (संघ) मा ध्रुव बुढाथोकी (धिरेन) र अस्मिता कार्कीको नाम सिफारिस गरेको स्रोतले बतायो ।
यस्तै, प्रदेशका लागि टंक राई र सुरेश राईको नाम सिफारिस गरेको जनाइएको छ । यसअघि टंक राई निर्वाचनमा उठ्न खासै चासो नदेखाए पनि जिल्ला पार्टीले भने उनको समेत नाम प्रदेशतर्फबाट उम्मेदवारको सुचिमा राखेको छ ।
यस्तै, प्रदेशतर्फ निर्वाचन क्षेत्र नम्बर दुईका लागि पासाङ राई र पृथ्वी राईको नाम सिफारिस भएको छ ।
जिल्ला पार्टी सचिवालयले संघमा एक जना उम्मेदवार हुनुपर्नेमा २/२ जनाको नाम पठाएको हो । यस्तै, प्रदेशका लागि पनि एक निर्वाचन क्षेत्र बराबर २/२ जना पठाएको छ । जसबाट एक/एक जनाले मात्र टिकट पाउने छन् ।
यसैगरी, माओवादी केन्द्र खोटाङले समानुपातिक तर्फ प्रदेश तथा संघको निर्वाचनका लागि जिल्ला पार्टीले मदन तामाङ, नवल खड्का, शम्भु घिमिरे, संगिता बानियाँ, पुष्प शंकर विकको नाम सिफारिस गरेको बताइएको छ ।
नवल खड्का राष्ट्रवादी चलचित्र निर्माता तथा नायक समेत हुन् । उनी लामो समयदेखि राष्ट्रियताको पक्षमा अभियानमा समेत सक्रिय छन् ।