खोटाङ असोज–१०, सुरक्षित बैदेशिक रोजगारलाई प्राथमिकतामा राख्दै खोटाङको लामिडाडाँ गाउँपालिकाका सबै वडामा सो सम्बन्धी सुचना तथा जानकारीमुलक गतिबिधी सञ्चालनका लागि स्वयमसेवक परिचालन कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । गाउँ पालिकाबाट बैदेशिक रोजगारीमा जान तयार वा बैदेशिक रोजगारीमा गएका परिवारलाई सचेतनामुलक बिभिन्न सूचना तथा जानकारी प्रदान गर्नका लागि एक–एक जना स्वयम सेवक परिचालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।
कार्यपालिकाको हालै बसेको बैठकले बैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो तथा उपलब्धीमुलक बनाउने उदेश्य राख्दै ६ वटै वडामा बैदेशिक रोजगारीबाट फर्किएका तथा सो सम्बन्धी सुचना तथा परामर्श प्रदान गर्न सक्षम ब्यक्तिहरुलाई परिचालन गर्ने निर्णय गरेको हो ।  अध्यक्ष निरौलाका अनुसार गाउँपालिका भित्रका कुन वडाका कति युवा कुन देशमा छन् भन्ने समेत जानकारी नभएको अवस्थामा सो सम्बन्धी जानकारी तथा तथ्याङ्क संकलन गर्न समेत स्वयमसेवक परिचालन आवश्यक रहेको हो । बैदेशिक रोजगारी धेरैका लागि कमाई गर्ने अवसरका रुपमा साबित भए पनि सुचनाका अभावमा बिना सीपतालिम तथा भाषाका ज्ञान नलिई जाँदा धेरै जना अप्ठ्यारोमा पर्ने गरेका छन् । स्वयमसेवकले वडाबाट बैदेशिक रोजगारीमा गएका वा जान सक्ने सम्भाबित प्रत्येक घरमा गई बैदेशिक रोजगारीको लागि आवश्यक प्रक्रिया, सम्भाबित जोखिम तथा बच्नका लागि अपनाउनु पर्ने सावधानी लगायतका बिषयमा जानकारी गराउने निरौलाको भनाई छ ।
हालसम्म बैदेशिक रोजगारीकै क्रममा मृत्यु हुने, अंगभंग हुने, बेपत्ता हुने, ठगीमा पर्ने, पारिवारिक बिखण्डन हुने यी घटनाहरुमा कोही न कोही लामिडाडाँ गाउँपालिकाकै पनि परेको स्थानीय जनप्रतिनिधि बताउँछन् । यस्तो अवस्थामा संकलन गरिएको बैदेशिक रोजगारीमा जानेहरुको तथ्याङककै आधारमा बैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दो तथा उपलब्धीमुलक बनाउन आवधिक योजना बनाउनुपर्ने यस क्षेत्रमा काम गर्ने जानकारहरु बताउँछन् । तथ्याङकको अद्यावधिक गर्दै योजना बनाउँदा निश्चित समयावधीमा लक्ष्य प्राप्त गर्न सकिने स्थानीयको धारणा छ । गाउँ पालिकाको सभा हलमा सम्पन्न छलफलमा प्रत्येक वडाबाट छनौट भएका स्वयमसेवकहरुलाई आवश्यक तालिम प्रदान गरी मासिक ६ हजार रुपैंयाँ नगद् उपलब्ध गराउने गरी परिचालन गर्ने निर्णय भएको छ ।
जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा पनि स्वयम सेवक परिचालन कार्यक्रम यसअघि नै  पारित भईसकेको छ । सुरक्षित आप्रवासन परियोजना सामीसँगको सहकार्यमा नगरको ११ वटै वडामा स्वयमसेवक परिचालन गर्ने तयारी भएको प्रमुख ईवन राईले जनाए । राईका अनुसार सुरक्षित आप्रवासन परियोजना सामीले ७ वटा वडामा यसअघि नै कार्यक्रम सञ्चालन गरिरहेको भए पनि अन्य ४ मा बाँकी रहेकाले सो वडाहरुमा नगरपालिकाको तर्फबाट स्वयमसेवक परिचालन कार्यक्रम सञ्चालन गर्ने निर्णय नगर परिषदबाट पारित भएको हो ।
स्वयमसेवक परिचालन तथा कार्यक्रम सफल पार्न जिल्लामा सुरक्षित बैदेशिक रोेजगारको क्षेत्रमा काम गर्दै आएका सुरक्षित आप्रवासन परियोजना सामी तथा बाल सेवा समाज नेपाल नेर्पा र नबकिरण सेवा समाज दुर्छिमसँग समन्वय–सहकार्य गर्ने टुंगो भएको छ ।