खोटाङ, २१ असोज । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङले जिल्लाबाट २९ जनाको नाम सिफारिस गरेको छ  । सदरमुकाम दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा दुई दिनसम्म बसेको जिल्ला कमिटिको बैठकमार्फत उम्मेदवारको नाम सिफारिस गरेको हो ।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सांसद तथा वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य खगेन्द्र राई र वैकल्पिक केन्द्रीय सदस्य राजन राईको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष बबी चाम्लिङले जानकारी दिनुभयो । समानुपातिकतर्फ देवविक्रम राई, शुक्रबहादुर विश्वकर्मा, समरबहादुर भुजेल र मनिषा राईको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।
बैठकले प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट सांसद पाँचकर्ण राई (पिके), प्रदेश सदस्य हरि पोखरेल, जिल्ला उपसचिव कुमारप्रसाद आचार्य, प्रदेश सम्पर्क कमिटि सदस्य वीरबलकाजी राई, युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल र पार्टीको जिल्ला सचिवालय सदस्य सनमान खड्काको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ कर्ण घले, देवन राई, भीम राई, निर्मला आचार्य, उपिनकुमार राई, अकिलकुमार राई र रमिला गुरुङको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । 
प्रदेशसभा क्षेत्र नम्बर २ का लागि पूर्व सभाषद् उषाकला राई, जिल्ला उपाध्यक्ष रामप्रसाद दंगाल र जिल्ला सचिवालय सदस्य जलशेर राईको नाम सिफारिस भएको छ भने, समानुपातिकतर्फ देविप्रसाद रेग्मी, जेनी राई, प्रभातविक्रम कटवाल, दिलकुमारी राई, सुशिला ढकाल र पूर्णकला तामाङको सिफारिस गरिएको छ । निर्वाचनमा टिकट दाबी गर्नेको संख्या बढी भएपनि टिकट पाउने उम्मेदवारलाई सहयोग गरेर जाने लिखित निर्णय भएको अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो । 
नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले भने, यसअघि नै उम्मेदवारको नामावली सिफारिस गरिसकेको छ । जिल्लाका अन्य साना दलले भने, अहिलेसम्म उम्मेदवारको नामावली सिफारिस गर्न सकेको छैन ।