खोटाङ २३ असोज
नेकपा माओवादी केन्द्र खोटाङले आगामी मंसिरमा हुने प्रदेश र केन्द्रको निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।
यसअघि पार्टी सचिवालय बैठक र प्रदेशको बैठकबाट नामावली टुंगो लगाएको माओवादी केन्द्र खोटाङले आइतबार उम्मेदवारका आकांक्षीहरुको नामावली सार्वजनिक गरेको हो ।
माओवादी केन्द्र खोटाङले प्रतिनिधिसभा (केन्द्र) का लागि प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य तथा पूर्व सभाषद् समिता कार्की (अस्मिता) र जिल्ला इन्चार्ज समेत रहेका पोलिटब्यूरो सदस्य ध्रुव बुढाथोकी (धिरेण)को नाम सिफारिस गरेको छ ।
माओवादीले प्रदेशबाट प्रत्यक्षमा पार्टी केन्द्रीय सचिवालय सदस्य टंक राई र केन्द्रका लागि संघबाट समानुपातिकमा वाम विश्लेषक तथा पूर्वसभाषद हरि रोका लगायतलाई उम्मेदवार सिफारिस गरेको छ ।
पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राईका अनुसार प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट पार्टी केन्द्रीय सचिवालय सदस्य तथा पूर्व सांसद टंक राई र जिल्ला सचिवालय सदस्य सुरेश राईको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नम्बर २ बाट पोलिटयूरो सदस्य तथा पूर्व सभाषद् रामकुमार राई (पासाङ) र जिल्ला संयोजक देवान किराती (पृथ्वी) को नाम सिफारिस भएको छ ।
समानुपातिकतर्फ संघमा पूर्व सभाषद् तथा अर्थ्विद् हरि रोका, नायक नवल खड्का र जिल्ला पार्टी सचिवालय सदस्य टंक तामाङ (मदन)को नाम सिफारिस गरिएको छ ।
प्रदेशसभाका लागि समानुपातिकतर्फ दलित मुक्ती मोर्चाका केन्द्रीय सदस्य पुष्पशंकर विश्वकर्मा, अखिल नेपाल ट्रेड युनियन महासङ्घका सचिव सँगीता बानियाँ, सहिद परिवारका सदस्य शम्भू घिमिरे र जिल्ला सचिवालय सदस्य उदिम राई (मुक्ती) को नाम सिफारिस भएको छ ।
खोटाङमा प्रत्यक्षतर्फ केन्द्रमा एक र प्रदेशमा दुई निर्वाचन क्षेत्र कायम भएकाले केन्द्रमा एक र प्रदेशमा दुई मात्र उम्मेदवार प्रत्यक्षतर्फ उम्मेदवार बन्न पाउने छन् । पछिल्लो पटक एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले संयुक्त रुपमा चुनाव लड्ने सहमति गरेकाले एमालेले ६० प्रतिशत र माओवादीले ४० प्रतिशतका आधारमा टिकट पाउनेछन् ।
नेकपा एमालेले यसअघि २९ जनाको नाम सिफारिस गरिसकेको छ ।

 

जिल्लाका पाँच ठाउँमा प्रशिक्षण
माओवादी केन्द्र खोटाङले जिल्लाका पाँच स्थानमा प्रशिक्षण चलाउने भएको छ । माओवादी केन्द्र खोटाङले हलेसी, हौचुर, दिक्तेल, सिन्ताङ र इन्द्रेणी पोखरीमा २६ देखि ३१ असोजसम्म प्रशिक्षण सञ्चालन गर्ने पोलिटब्यूरो सदस्य दुर्गा जयन्ती राईले जानकारी दिइन् ।

 

प्रशिक्षणका लागि दुई टोलि बनाइएको छ । टंक राईको नेतृत्वमा पोलिटब्यूरो सदस्यहरु धिरेन, दुर्गा जयन्ती राई, चेतना गुरुङ एक नम्बर क्षेत्रमा र पासाङको नेतृत्वमा पृथ्वी, अस्मिता र शंकर दुई नम्बरमा प्रशिक्षक रुपमा सामेल हुनेछन् ।