
रामधन राई/खोटाङ असोज–२३, घुमाउने छानो, रातो माटोले पोतिएको अलि अघिल्लै जमानामा बनेको ऐतिहासिक घर । घरको आँगनभरि किराती मौलिक भेषभुषामा सजिएका सबै उमेर समुहका मानिसहरुको आवत–जावत, चहलपहल । यहाँ बिहे भईरहेको छ । बिहेमा बेहुला–बेहुली हुने नै भयो । अतः किरात राई थुलुङ जातिका चलनअनुसार भेषभुषामा ठाँटिएका बेहुला–बेहुलीको साथमा लमी(कलिया) अनि केही युवायुवतीहरु छन् । गाउँका बुढापाका–केटाकेटी पनि उत्तिकै देखिन्छन् । नजिकै आँगन कुनामा टाँडमाथि राखिएको एक जोर घ्याम्पा मुनिबाट सरुवा झर्दैछ । जाँडरक्सीको हल्का चलखेल पनि हुँदैछ । जे होस् थुलुङ राईको बिहेमा हुने ढोगभेट लगायतका रितीरिवाज जे छ त्यो सबै रिठ्ठै नबिराई भई नै रहेको छ ।

तर माथि भनिएको बिहे भने युवराज राईको निर्देशनानुसार चलिरहेको थियो । छेउछाउमा लाईटमेनहरु तथा मेकअप मेन तैनाथ थिए भने युवराज राई आफैले क्यामेरा चलाईरहेका थिए । पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राई लगायतका पत्रकारहरु पनि उपस्थित भई ती बिहेका फोटोहरु क्यामेरामा कैद गरिरहेका थिए ।
गायक तथा संगीतकार पदम थुलुङ राईको ‘मायाँ छ रुमालैमा,,’ भन्ने पुर्बेली गीति भिडियो प्रयोजनका लागि आयोजना गरिएको नक्कली बिहेलाई सहज तबरबाट अगाडी बढाउन खोजिए पनि स्थानीय बृद्दबृद्दा, युवायुवतीलगायतका सोही गाउँका नयाँ कलाकारहरु समेत समाबेश गरिएकाले बिहेको दृश्य उतार्नका लागि निक्कै हम्मे परिरहेको थियो ।

गरिएको निर्देशक युवराज राईको भनाई छ । राईका अनुसार यथार्थको बिहे जत्तिकै ब्यवस्था र उपस्थिती भएकाले बिहेको दृश्य भिडियोमा उतार्न सहज भएको हो । स्थानीय युवाहरुको सक्रियताका कारण भब्य ढंगको नक्कली बिहे आयोजना गरी ब्यवस्थित तरिकाले सो सम्बन्धी छायाँङ्कन गर्न सम्भब भएको गायक तथा संगीतकार थुलुङ राईको भनाई छ । गाउँका बुढापाकाहरुको साथ र सक्रियता पनि उत्तिकै रहेको थियो । उसो त गाउँपालिका प्रमुख लिलानाथ निरौला, उपप्रमुख समला राई लगायतका जनप्रतिनिधीको समेत सो कार्यका लागि उपस्थिती र सहयोग थियो ।
एक दशक अघिदेखि नै संगीतको ब्यवसायिक धारमा प्रबेश गरेका गायक तथा संगीतकार थुलुङ र गायीका सरला राईको स्वर रहेको गीति भिडियोमा शेसुका राई, पवन राई, निर्मला पुलामी, वशन्त राई, दिनेश राई, रेणुका राई लगायतको अभिनय रहेको छ । थुलुङले पुर्वका किरात समुदायमा गाइने लोपोन्मुख भाकालाई समेटेर जुहारी गीत बनाएका हुन् । यो भाका विशेषगरी गाउँघरमा मेला, हाटबजार तथा विहे लगायतका शुभकार्यमा गाउने गरिन्छ ।
गणेशकुमार राईको शव्द, अनिल थुलुङको नृत्य निर्देशन रहेको गीतिको भिडियो वशन्त राई र दिनेश राईले निर्माण गरेका हुन् । तिहारपछि बजारमा ल्याउनेगरी छायांकन सुरु गरिएको गीतको भिडियोमा विहेका क्रममा हुने विभिन्न रीतिसंस्कृतिलाई समेटिएको छ ।