केदार मगर/ खोटाङ २४ असोज ,  जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको घर खाली गरेर तत्काल भाडा उपलब्ध गराइ दिन घरधनीले प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका छन् । जिल्ला अस्पातलले लिलाम गरेको उपकरण राखिएको दिक्तेलस्थित रत्नपार्क नजिक रहेको घर खाली गरेर भाडा उपलब्ध गराइ दिन अनुरोध गर्दै घरधनी राजन केसीले प्रजिअ एकदेव अधिकारी समक्ष लिखित माग गरेका हुन् । 
२०७२ साल चैत ७ गतेबाट मासिक दश हजार भाडामा लिएर लिलाम गरिएको उपकरण राखिएको घरमा प्रशासनले २०७३ साल असोज १२ गते सिलबन्दी गरेको थियो । प्रशासनले सिलबन्दी गरेपछि उपकरण राख्ने अर्जुन चौलागाई पनि अहिलेसम्म सम्पर्कमा नआएको घरधनी केसीको गुनासो छ । 
केसीको घरको तीनवटा सटरमा अस्पतालले लिलाम गरेको आधाभन्दा बढी उपकरण राखिएको छ । “भाडाबापतको रकमको लोभमा घर दिइयो ।” केसीले भन्नुभयो, “अहिले न भाडा पाइयो, न घर नै खाली गरिदियो ! सबैभन्दा अप्ठ्योरोमा म परेको छु ।”
सिलबन्दी र लिलाम प्रकरणका बारेमा सम्बन्धित व्यक्तिलाई प्रशासनमा झिकाएर समस्या हल गर्ने तयारी गरिएको प्रजिअ अधिकारीले बताउनुभयो । “प्रशासनको तर्फबाट अघिल्लो सिडिओको पालामा सिलबन्दी गरिएको रहेछ ।” उहाँले भन्नुभयो, “यसमा घरधनीको कुनै दोष छैन । सम्बन्धित व्यक्तिलाई झिकाएर हल गर्ने योजना बनाएको छु ।”
लिलाम बिक्री गरिएका उपकरण मर्मत गरेर काम लगाउन र सिलप्याक नै नतोडिएको उपकरणलाई कवाडीको भाउमा बिक्री गरिएको भन्दै बिरोध सुरु भएपछि प्रशासनले राखेकै ठाउँमा पुगेर सिलबन्दी गरेको थियो । अस्पतालले लिलाम गरेका ११२ थरिका उपकरण तथा सामान मर्मतका लागि बाहिर लैजान केसीकोसहित दिक्तेलका तीन जनाको घरमा राखिएको अवस्थामा प्रशासनले सिलबन्दी गरेको हो । 
लिलाममा परेका उपकरणमध्ये अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी ११२ थरिका उपकरण २६ हजार ५०० मा लिलाम बिक्री गरेको खुलासा भएको छ । अस्पताल विकास समितिलाई जानकारी नै नगराइ करोडौंको उपकरण न्यून मूल्यमा बिक्री गरेको भन्दै खोटाङ एकता सेवा समाज खोटाङले दोषीमाथि कारबाही गर्न र लिलाममा परेका उपकरण सिल गर्न प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको थियो । 
अस्पतालको उपकरण लिलामका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो दिएको थियो । उपकरण लिलाम प्रकरणबारे छानविन गर्न मन्त्रालयको टोली खोटाङ आएर गएपनि अहिलेसम्म कुनै कारबाही भएको छैन ।