खोटाङ असोज–२७, खोटाङस्थित बिभिन्न प्रहरीचौकीलाई निःशुल्क जग्गा प्रदान गर्ने चार जना सम्मानित भएका छन् । ६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले शुक्रबार आयोजना गरेको बिशेष कार्यक्रममा नुन्थला, देबिस्थान, भण्डारेघाट र तालखर्क प्रहरी चौकीका लागि निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाता सम्मानित भएका हुन् । 
जिल्ला प्रहरी कार्यालयको प्राङगणमा आयोजित कार्यक्रममा प्रहरी चौकीका लागि निःशुल्क जग्गा उपलब्ध गराउने रुपाकोट मझुवागढी नगरपालिका–१३ नुन्थलाका बिरस तामाङ, जन्तेढुङ्गा गाउँपालिका–१ का भिमबहादुर राई, दिपु्रङ गाउँपालिका–४ भण्डारेका राजेन्द्र राई र दिपु्रङ गाउँपालिका– ५ का मदन राईलाइ प्रमूख अतिथि प्रमूख जिल्ला अधिकारी एकदेब अधिकारीले सम्मान पत्र र दोसल्लाले सम्मान गरेको हो । 
अस्थायी रुपमा रहेका प्रहरी चौकीलाई स्थायी बनाउने प्रयोजनका लागि आफुहरुले जग्गा उपलब्ध गराएको भन्दै अस्थायी चौकीमा प्राप्त जग्गामा भवन बनाई तुरुन्त स्थायी चौकी खडा गर्न जग्गादाताको माग रहेको छ । जग्गादाताका तर्फबाट बोल्दै दाता राजेन्द्र राईले आफ्नो जग्गा सस्तो भएर दिएको नभई स्थायी चौकी निर्माणर्थ दिएकाले तत्काल स्थायी चौकी स्थापनाको पहल गर्न सम्बन्धित पक्षसँग माग गरे ।

अमर प्रहरी परिवारलाई सम्मान
कर्तब्य पालना गर्ने शिलशिलामा बिभिन्न समयमा साहदात प्राप्त अमर प्रहरीहरुको सम्झनामा बर्षेनी आयोजना हुँदै आएको प्रहरी दिवसको लअवसरमा यो बर्ष ३ जना अमर प्रहरी परिवार तथा आफन्तलाई सम्मान गरिएको छ । 
२०५८ सालमा सोलुखुम्बुमा साहदात प्राप्त हरिभक्त श्रेष्ठ, २०६५ सालमा भोजपुरमा साहदात प्राप्त जयप्रसाद आचार्य र २०५८ सालमा रुकुममा साहदात प्राप्त नमराज ठाकुरको परिवार वा आफन्तलाई दोसल्लाले सम्मान गरिएको हो । 
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बिभिन्न समयमा खोटाङका २६ जना प्रहरीले आफ्नो कर्तब्य निर्बाह गर्ने क्रममा ज्यान गुमाएका छन् ।